काठमाडौं । पुँजी बजार सुधारको लागि चार सदस्यीय कार्यदल गठन भएको छ । सेयरबजार परिसूचक नेप्से गत बिहीबार एकैदिन छ प्रतिशतले घटेपछि अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा पुँजीबजार सुधारको लागि कार्यदल गठन भएको हो ।
अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले शुक्रबार पुँजी बजार सुधारको लागि कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाल धितोपत्र बोर्डको कामु कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहेका छन् भने सदस्यहरूमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल र सदस्यमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।
पछिल्लो समय जेनजी आन्दोलनकै कारण सेयरबजारमा निकै ठूलो पहिरो गएको छ । यो अवस्थामा सेयरबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गर्न भन्दै कार्यदल गठन भएको हो । ‘पुँजी बजारमा विकसित विसंगति तथा समास्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको कार्यदल गठन भएको हो ।’ अर्थ मन्त्रालयले भनेको छ । कार्यदलले अबको पाँच कार्य दिनभित्रमा सेयर बजार सुधारको ठोस योजनासहितको कार्ययोजना पेस गर्नुपर्नेछ ।