प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्। मंगलबार साँझ भएको छलफलपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्र, वैज्ञानिक महावीर पुन र डा. मदन परियारलाई मन्त्रीका लागि सिफारिस गरिएको हो। राष्ट्रपतिको कार्यालयले उनीहरूको नियुक्ति र शपथ बुधबार हुने जनाएको छ। सिफारिसअनुसार पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति र कानुन मन्त्रालय सम्हाल्नेछन्। कानुन मन्त्रालय हालसम्म गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए। स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. संगिता मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको छ। उनले मन्त्री बन्ने सम्भावना देखिएपछि आइतबार नै आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। पत्रकार जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ। दुई दशकदेखि पत्रकारितामा सक्रिय खरेल इमेज टिभीका समाचार प्रमुख समेत रहेका थिए। कृषि विज्ञ डा. मदन परियारलाई कृषि विकास तथा पशुपंछी मन्त्रालयमा सिफारिस गरिएको छ। उनी तत्कालीन राज्य पुनर्संरचनाको संयोजकसमेत भएर काम गरिसकेका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व दिन सिफारिस गरिएको छ। पुनले दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारदेखि औजार र मेसिन विकासमा निरन्तर योगदान दिँदै आएका छन्।