काठमाडौं । अघिल्लो साता जेन–जी आन्दोलनले क्षतिग्रस्त बनेका भन्सार कार्यालयहरु सञ्चालनमा आएका छन् । भन्सार विभागका अनुसार सम्पूर्ण भन्सारहरु सुचारु भएका हुन् ।
गत सातादेखि मेची र भद्रपुर भन्सार कार्यालयले आयात–निर्यात सूरु गरेको थियो । भन्सार कार्यालयहरु सञ्चालनमा आएसँगै दुईतर्फीरुपमा आयात–निर्यात सुचारु भएको छ । आन्दोलनका कारण नाकामा रोकिएका मालवाहक सवारी साधानहरुले सहजरुपमा नेपाल प्रवेश गरेका छन् । दैनिकरुपमा करिब एक सयवटाभन्दा बढी मालवाहक सवारी साधनहरु नेपाल प्रवेश गरेको भन्सार विभागले जानकारी दिएको छ ।
औषधिजन्य पदार्थ र ग्यास बुलेटलगायतका अतिआवश्यक सवारी साधानहरु प्रवेश पाइरहेको थिए भने कार्यालय सञ्चालनमा आएपश्चात् भने अन्य सवारी साधनलाई समेत प्रवेश गर्न पाएका हुन् । कार्यालयहरु पहिलेकै अवस्थामा आउन सकेको छैन । तर अधिकारीहरुले मालवाहक सवारी साधनको जाँचपास गरी सहज अवस्थामा ल्याउने प्रयास गरिरहेका छन् । चाडवाडको समयमा आवश्यक सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यका साथ भन्सार कार्यालय तथा नाकाहरु सञ्चालनमा ल्याइएको भन्सार विभागले जनाएको छ ।
भदौ २४ मा आन्दोलनकारीले भन्सार कार्यालयहरु तोडफोड र आगजनी गरेका कारण सेवा सुचारु हुन सकेको थिएन । तोडफोड र आगजनीपश्चात कार्यालयका आवश्यक सामग्रीहरु समेत चोरी हुँदा भन्सारका कर्मचारीहरुले सेवा सुचारु गर्न सकेका थिएनन् । विभागका निर्देशक किशोर बर्तौलाले भन्सारमा आवश्यक पर्ने टेबुल कुर्सी कम्प्युटर, विद्युतीय उपकरणहरु खरिद गरी कार्यालय सञ्चालनमा ल्याएको बताए ।
‘मेची भन्सार कार्यालयका लागि नयाँ कुर्सी, कम्प्युटर, ल्यापटप र विद्युतीय उपकरणलगायतका सामग्री खरिद गरेका छौँ, उनले भने, ‘विराटनगर कार्यालयमा कम्प्युटर प्रणाली नष्ट गरिएकोमा त्यसमा सुधार गरेर काम अघि बढाएका हौँ ।’ कम्प्युटर प्रणाली सञ्चालनमा नआए मालवाहक साधनहरुलाई प्रवेश गराउन कठिन हुनेछ । आन्दोलनपछिका दिनहरुमा ५० वटाभन्दा बढी सवारी साधनहरु जाँचपास गरी भित्र्याउने गरेकोमा हाल सो संख्यामा वृद्धि गराउँदै लगिएको छ ।
आगलागी र तोडफोड गरेका कारण मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालय भने आंशिक क्षति पुगेको थियो । हाल भने क्षतिग्रस्त सम्पूर्ण भन्सारबाट आयात निर्यात दुवै काम सहजरुपमा भएको निर्देशक बतौलाले बताए ।
क्षति पुगेका कार्यालय तथा कार्यालयका सामग्रीहरु थप गर्दै सेवा सञ्चालन गरिएको उनको भनाइ छ । चाडवाडको समयमा आपूर्ति व्यवस्थामा समस्या नहोस् र बजारमा सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले काम अघि बढाइएको हो,’ निर्देशक बर्तौलाले भने, ‘आपूर्ति व्यवस्था सहज बनाउँदा बजारमा अभावको सिर्जना हुँदैन र नागरिकलाई राहत प्रदान हुन्छ । विभागले क्षतिग्रस्त भन्सारहरु सञ्चालनमा आए पनि चीनतर्फको रसुवा नाका भने बन्द नै रहने जनाएको छ । प्राकृतिको प्रकोपको कारण बन्द हुन पुगेको रसुवा नाका दशैँअघि सञ्चालनमा नआउने भएको छ ।
सरकारले भन्सार कार्यालय तथा नाकाहरु सञ्चालनमा ल्याएर नागरिकलाई राहत प्रदान गर्ने काम गरेको विज्ञहरुले बताएका छन् । चाडवाडको समयमा नाकाहरु सञ्चालन गरी आयात निर्यात खुलाउँदा सामग्रीहरुको अभाव नहुने अर्थविद् केशव आचार्यले बताए । आन्दोलनका कारण बजारमा कृत्रिम अभाव गर्ने अवस्था भने छैन । तैपनि गलत नियत राख्न सक्ने अवस्थामा सरकारले नाका सुचारु गरी सहजीकरण गर्नु राम्रो काम भएको उनले बताए ।
त्यस्तै, भन्सार सञ्चालनमा आएसँगै सुख्खा बन्दरगाह पनि सञ्चालनमा ल्याइएको छ । आन्दोलनका कारण आठवटा सुख्खा बन्दरगाहमध्ये सबैभन्दा धेरै क्षति काँकडभिट्टा सुख्खा बन्दरगाह भएको थियो । काँकडभिट्टा बन्दरगाहको गोदाममा धेरै क्षति भएको थियो । गोदाममा रहेका सिसा, मदिरा, चिया, कागजजन्य सामग्री र मदिरामा क्षति पुगेको थियो छ । आगलागी र तोडफोडका कारण ती सामग्रीहरु नष्ट भएको थियो भने त्यसको व्यवस्थापन गरिएको निर्देशक बतौलाले बताए ।
सुख्खा बन्दरगाहमा क्षति गरेसँगै नेपाल इन्टरमोडल यातायात विकास समितिले क्षतिको आकलन गर्न अध्ययन समिति निर्माण गरी काम थालेको थियो । समितिले क्षतिको विवरण संकलन गरी सुधार गर्दै अघि बढ्दा समस्या समाधान भएको हो । आन्दोलनका कारण भन्सार मात्रै नभई राजस्व कार्यालय समेत क्षति पुगेको थियो ।
आन्तरिक राजस्व विभाग मातहतका दमक, इटहरी, विराटनगर, लाहन, जनकपुर, सिमरा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरास्थित कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका थियो । कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालय र इलाम तथा सिन्धुली जिल्लास्थित करदाता सेवा कार्यालयमा आंशिक क्षति पुगेको थियो भने ती कार्यालयहरुमा पनि सुधारको काम अघि बढाइएको छ ।