नेपाल अहिले एक अत्यन्तै नाजुक तर निर्णायक मोडमा उभिएको छ । दशकौँदेखि थिचिएको आवाज फेरि सडकमा उर्लिएको छ । यो कुनै दलको नारा होइन, यो आवाज हो एक पुस्ताको आक्रोश, पीडितहरूको चिच्याहट र नयाँ नेपालको सपना देख्नेहरूको दृढ प्रतिज्ञा ।
आज जेन–जीले उठाएका प्रश्नहरू केवल प्रश्न मात्र रहेनन् । तिनमा अब उत्तर खोज्ने ऊर्जा छ । यो आन्दोलन नारा होइन विचार हो, विकल्प हो र नेतृत्वप्रति गरिएको स्पष्ट चुनौती हो ।
हजारौँ युवाहरू जब सुरक्षाको प्रवाह नगरी सडकमा उत्रिन्छन्, त्यो कुनै भावनात्मक आवेग होइन । त्यो व्यवस्था परिवर्तनको म्यान्डेट हो । आन्दोलन अब केवल कुर्सीको विरोध होइन यो भ्रष्ट संरचनाको अन्त्यको लडाइँ हो । यो अलोकतान्त्रिक मानसिकता र पुरानो शैलीको शासनको विरुद्धमा उठेको राष्ट्रिय चेतना हो । अर्थात् अहिलेको सबैतिरको नेतृत्वप्रतिको चुनौती हो । अहिलेको नेतृत्वले अब गोलमटोल जवाफ दिएर उम्किन सक्ने अवस्था छँदैछैन ।
जनता ‘प्राविधिक सरकार’को परिभाषाबाट सन्तुष्ट छैनन् । जब जनताको रगत बग्छ, जब युवाहरू भविष्य माग्दै सडकमा आउँछन्, तब सरकारको जिम्मेवारी केवल चुनाव गराउनु मात्र हुँदैन त्यो सरकारले संवैधानिक र संरचनात्मक परिवर्तनको आधार तयार पार्नु पनि हुन्छ ।
जेन–जीको आवाज संविधानको प्रत्येक पानामा समेटिनुपर्छ । किनकि संविधान त्यतिबेलासम्म जनताको हुँदैन, जबसम्म त्यो बनाउने प्रक्रियामा जनताको पीडा, आशा र भावना समेटिँदैन । आजको संविधान कागजमा त छ, तर त्यसमा जनताको आत्मा छैन । त्यसैले जनता त्यसमा अपनत्व महसुस गर्न सकिरहेका छैनन् ।
यदि हामी फेरि पनि उही पुराना अनुहारहरूलाई जिताएर, उही गठबन्धन, उही भागबन्डा, उही शैली दोहोर्याउने हो भने असन्तुष्टि फेरि चुलिनेछ । फेरि सडक तताउनेछ । अनि त्यो बेला जनताको विश्वास मात्र होइन, राष्ट्रकै आधार हल्लिनेछ ।
अब सोच बदल्नु अत्यावश्यक छ । प्रतिनिधिसभा चुनावसँगै जनमत संग्रहको व्यवस्था गरिनुपर्छ । संविधानका विषयमा राज्यको संरचना, नागरिकताको परिभाषा, धर्मनिरपेक्षता, शिक्षा र स्वास्थ्यको मौलिक हक यी सबैमा प्रत्यक्ष जनमत लिइनुपर्छ । जनताको म्यान्डेट संविधान संशोधनको प्राथमिक आधार बनिनुपर्छ ।
यो कुनै विकल्प होइन, अबको बाध्यता हो । हामीले युगौँसम्म राजनीतिक दलहरूमा विश्वास गर्यौँ । जनयुद्ध भयो, जनआन्दोलन भयो, बलिदान पनि भयो तर शासन फेरिँदा जनताको अवस्था उस्तै रह्यो । संविधान आयो, तर जनताको आत्मा त्यसमा हरायो ।
जेन–जीको आवाजलाई कुनै एक संगठनको मात्रै मान्नु, या सामाजिक सञ्जालको आवेग सम्झनु, इतिहासकै ठूलो भूल हुनेछ । यी युवाहरू अब चेतनशील छन्, सक्षम छन् र नेतृत्वको दाबी गर्न सक्ने छन् । उनीहरू व्यवस्था बुझ्छन्, भोग्छन् र बदल्न सक्ने हिम्मत राख्छन् ।
हामीसँग अब दुई बाटा छन् ः पुरानै शैलीमा फेरि राष्ट्रलाई घिसार्ने वा नयाँ सोच र नेतृत्वलाई स्वीकृति दिने । हिजोका पुस्ताले मुलुकलाई लोकतन्त्र दिए, तर आजको पुस्ताले त्यो लोकतन्त्रलाई जीवन्त बनाउने जिम्मेवारी पाएको छ । भ्रष्ट्राचार, भागबन्डा, बेरोजगारी, असमानता यी सबै समस्याको प्रत्यक्ष भार जेन–जीले बोकिरहेका छन् । अनि समाधान ल्याउने अधिकार पनि उनीहरूकै हो ।
जुन पुस्ताले देशको बहुमत बनाउँछ, जो सूचना, प्रविधि र वैश्विक अनुभवले भरिपूर्ण छन्, तिनलाई ‘अभिनव उत्साह’ भनेर ‘डिसमिस’ गर्नु मूर्खता हो । उनीहरू अब नेतृत्वका पात्र हुन् ।
यदि फेरि उही पार्टी, उही गठबन्धन, उही विचारले चुनाव जिते यो आन्दोलन फेरि टारिएला तर समाधान हुँदैन । अनि त्यसपछि उठ्ने आक्रोशको जिम्मेवारी कसले लिने ?
हिजोको युद्धलाई ‘जनयुद्ध’ भनियो, किनभने त्यो जनताको पक्षमा थियो । आज पनि परिवर्तन चाहिन्छ भने त्यो जनताको म्यान्डेटबाट, जनताको नेतृत्वबाट, जनताको प्रत्यक्ष सहभागिताबाट आउनुपर्छ ।
ंविधान किताबको पाना मात्रै हुन सक्दैन । त्यो जनताको आत्मा बोकेको दस्ताबेज हुनुपर्छ । अनि जनताको आजको म्यान्डेट स्पष्ट छ– ‘अबको चुनाव नयाँ अनुहारहरूका लागि होस्, नयाँ सोच र दृष्टिकोणका लागि होस् ।’
यदि संविधानले यो स्पेस दिएन भने, समय आएको छ त्यो स्पेस बनाउन । विशेष संवैधानिक प्रबन्ध गरेर, अहिले नै कानुनी बाटो तय गरौँ । जहाँ यो आन्दोलनका मागहरू जनमतमा लैजान सकिन्छ । अनि जनमतका आधारमा संविधान संशोधन अनिवार्य गरौँ ।
अब निर्णायक क्षण आएको छ । अब ‘राष्ट्रिय सहमति’ केवल औपचारिकता होइन नयाँ क्रान्तिको सुरुवात हो । सहमति चाहिन्छ पुरानोको अवसानमा, नयाँ नेपालको निर्माणमा ।
यो आन्दोलन कुनै गुट, दल, वा विचारधाराको मात्रै होइन । यो सम्पूर्ण नेपाली जनताको आवाज हो जसले अब परिवर्तन चाहन्छ र तयार छ त्यसको नेतृत्व गर्न । यदि परिवर्तन भएन भने, यदि जनताको आवाज फेरि संविधानमा समेटिएन भने त्यो आक्रोशको जिम्मा कसले लिने ? सरकार ? सेना ? कि फेरि आम जनता ?
अन्ततः, आजको चेतावनी स्पष्ट छ– ‘हामीलाई सुन्नुहोस्, हामीलाई सहभागी गराउनुहोस्, नेतृत्व दिनुहोस् नभए हामी आफैँ अघि सर्छौँ, व्यवस्था बदल्छौँ अनि नयाँ इतिहास लेख्छौँ ।’
जेन–जी अबको नेपालको रूपरेखा कोर्ने पुस्ता हो । उनीहरूको माग केवल परिवर्तनको माग होइन त्यो त देशको नवजागरणको बीउ हो । त्यसैले आज हामी सबै मिलेर भन्नुपर्छ– ‘जेन–जी नेतृत्व गर, हामी साथ दिन तयार छौँ ।’
अब परिवर्तन रोकिन सक्दैन । अब पुरानाले यो बाढी थाम्न सक्दैन । अब व्यवस्थाले यो चट्याङ सम्हाल्न सक्दैन । यो युग जेन–जीको हो । उनीहरूलाई नेतृत्व देऊ, संविधान संशोधनको बाटो खोल अनि नेपालको पुनर्निर्माणको सम्पूर्ण जिम्मा उनीहरूलाई सुम्प । किनभने अबको पुस्तासँग प्रश्न मात्रै होइन, उत्तर पनि तयार छ । (सिलवाल चिल्ड्रेन भिजन नेपालका अध्यक्ष हुन् । )