काठमाडौं । नेपाल चेम्बर अफ कमर्स, नमोबुद्धले हीरक जयन्तीको अवसरमा विश्व स्वतन्त्र क्योकुसिन संगठनको सहयोगमा भकुन्डेबेसीमा आयोजित ‘दोस्रो एक–एक पूर्ण सम्पर्क कराँते प्रतियोगिता–२०८२’ मा ठेचो डोजोले ऐतिहासिक सफलता हासिल गरेको छ ।
रिजन महर्जनको नेतृत्वमा मैदानमा उत्रिएको ठेचो डोजोका कुल १९ खेलाडीमध्ये १४ जनाले स्वर्ण पदक जितेका छन् । बाँकी खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । टोली अनुभवी प्रशिक्षक राम महर्जनको मार्गदर्शनमा प्रशिक्षित थियो । प्रशिक्षक महर्जनले खेलाडीहरूलाई अनुशासन, फिटनेस र मानसिक तयारी दुवैमा तयार गराएका थिए ।
प्रतियोगिता भकुन्डेबेसीमा विशेष उत्साहका साथ सम्पन्न भयो । कार्यक्रममा स्थानीय सरोकारवालासहित नगरप्रमुखको विशेष उपस्थिति रह्यो । नगर प्रमुखले खेलाडीहरूलाई मेहनत र अनुशासनसहित खेल खेल्न सुझाव दिए र हौसला बढाए । उनले भने, ‘खेलकुदले अनुशासन, आत्मबल र सामाजिक उत्तरदायित्व बढाउँछ । यसरी सिकेका मूल्यहरू जीवनमा ठूलो भूमिका खेल्छन ।’
प्रतियोगिताको मूल नारा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ले खेलाडीहरूलाई राष्ट्रिय गौरव र अनुशासन सिकाउने सन्देश दिएको छ । आयोजकहरूले भने कि खेल केवल प्रतिस्पर्धा होइन, राष्ट्र निर्माणमा योगदान गर्ने माध्यम पनि हो ।
ठेचो डोजोको सफलता प्रशिक्षक, अभिभावक र खेलाडीहरूको संयुक्त मेहनतको परिणाम हो । यसले कराँतेको लोकप्रियता बढाउने मात्र नभई नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।