काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भीर रहेको बताएकी छिन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनुपरेको बताइन् । नेपालमा व्यवसाय गर्नु भनेको जुवा खेल्नु सरह रहेको उनको भनाइ थियो । छलफलमा उनले विधिको शासनलाई सबैले पालन गर्नुपर्ने उल्लेख गर्दै सरकार सदैव व्यवसायीहरुको साथमा रहने बताइन् ।
व्यवसायीहरुले समेत सरकारलाई सहयोग गर्न तयार रहेको कुरा सुन्दा आफूलाई गौरवको अनुभूति भइरहेको उनको भनाइ थियो । यस्तै, उनले नेपालको बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन समेत दिएकी थिइन् । उनले सरकारले मात्र रोजगार दिन नसक्ने भएकोले निजी उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने बताइन् । छलफलमा ब्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने आश्वासन समेत दिइन् । साथै, उनले वर्तमान सरकारले निर्वाचन र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् ।
नाडाका अध्यक्ष करण चौधरीले व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताए । व्यवसायीहरुको उत्थानका लागि सरकारले रोडम्याप तयार गर्नुपर्ने उनको सुझाव छ । छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरेका थिए । छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालू रेसियोमा हाल ६० प्रतिशतको सीमालाई बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने बताए ।
नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाको तर्फबाट वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत उनले अनुरोध गरे । छलफलको अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवर्द्धन परिषद्मा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह गरे ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत, तथा सिँचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको थियो । साथै, नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्वय कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेत सहभागी थिए ।