काठमाडौ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेन–जी आन्दोलनका कारण निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलका क्रममा महासंघका अध्यक्ष ढकालले उक्त जानकारी दिएका हुन् । महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको उनले जानकारी दिए । कतिपय ठूलो क्षति भएका उद्योग र साना एवम् राजधानीबाहिरका केही व्यवसायका विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि हुन सक्ने भएकाले अन्तिमरुप दिँदा क्षति विवरणमा सामान्य फरक हुन सक्ने उनको भनाइ छ । महासंघले जति सक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको अध्यक्ष ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालले अर्थतन्त्रको पुनःनिर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरे । निजी क्षेत्रले सम्मानितरुपमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो । हरेक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएको रुपमा हेर्न सकिने उनले बताए । निजी क्षेत्रले युवापुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण ठूलो जनधनको क्षति व्यहोरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने उनको माग छ । कारबाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भई निजी लगानी थप निरुत्साहित हुने उनले बताए ।
यस्तै, उनले आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकरलगायतमा छुट प्रदान गर्न आग्रह गरे । माग बढाउन मूल्य अभिवृद्धि करको दरमा पनि समायोजन गर्न सकिनेतर्फ महासंघले सुझाव दिएको छ । यस्तै, उनले व्यवसायीलाई भन्सारलगायत शुल्कमा छुट दिन, नागरिक एपबाट व्यवसाय दर्ता एवम् खारेजीलगायतका सेवा लिन सकिने व्यवस्था गर्न, कर बुझाएपछि नवीकरण गर्नुपर्ने बाध्यता हटाउन माग गरे ।
साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जा आवश्यकताका साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनःनिर्माणमा उपयोग गर्न सकिने महासंघको सुझाव छ । छलफलका क्रममा चालू पुँजी कर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनर्कर्जा, ब्याज अनुदानलगायतका वित्तीय सहुलियत तत्काल दिन सकिनेतर्फ व्यवसायीहरुले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।