काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहणपछि आफ्ना प्राथमिकता स्पष्ट पारेका छन् । उनले मन्त्रालयका जटिल चुनौतीहरूलाई एक्लै बुझ्ने वा समाधान गर्ने प्रयास नगरी, विशेषज्ञ र विज्ञहरूको सुझाव लिँदै अघि बढ्ने बताएका छन्। उनले भने, “यहाँ धेरै कुराहरू छन्, म सबै कुरा आफैंलाई मात्र थाहा छ भनेर भन्न चाहन्नँ। म विशेषज्ञहरूको सल्लाह सुझाव माग्छु। सुझाव राम्रा पनि आउँछन्, नराम्रा पनि आउँछन्। तर, जो जो राम्रा हुन्छन्, तिनलाई प्राथमिकता दिँदै सकेसम्म छिटो छरितो कार्यान्वयन गरिनेछ।” उनको भनाइले शिक्षा र प्रविधि क्षेत्रमा व्यावसायिक दृष्टिकोणबाट सुधार ल्याउने संकेत गरेको छ। विज्ञहरूका विचारलाई प्राथमिकतामा राख्दै नीतिगत सुधार र नवप्रवर्तनलाई अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।