काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन मनाईने घटस्थापना सोमबार धुमधामका साथ मनाईएको छ । घटस्थापनासंगै हिन्दुहरूको महान् पर्व बडा दसैं पनि शुरु भएको छ ।
बडा दसैंको पहिलो दिन विभिन्न शक्ति पिठ तथा घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको हो । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । सोमबार नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा जमरा राखिएको छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि छैन तर कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् ।
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले घटस्थापना भन्ने गरिएको हो । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
घटस्थापनाको साइत सोमबार बिहान ०९ः१३ बजे रहेको थियो । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।