काठमाडौं । बडादशैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भए पनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दशैँमा काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको संख्या उल्लेख्य रहेको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको संख्या वृद्धि भइरहेको छ । केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन् । कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन् । आन्तरिकमा भने साविकबमोजिम सामान्य रहेको प्रवक्ता शेर्पाले बताए । विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।
प्रवक्ता शेर्पाका अनुसार शनिबार अन्तर्र्राष्ट्रियतर्फ एक सय छ उडान भएका छन् । जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए । यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन् । आन्तरिकतर्फ दुई सय २२ उडान भएका छन् । यसमध्ये काठमाडाँैँबाट बाहिरिने यात्रुको संख्या छ हजार आठ सय ७५ रहेको छ भने भित्रिनेको संख्या चार हजार ६५ रहेको छ । आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार पाँच सय यात्रु भित्रिएका छन् । छ हजार आठ सय यात्रु बाहिरिएका छन् । आन्तरिकमा कुल दुई सय २९ उडानमार्फत सात हजार आठ सय ८७ र पाँच हजार पाँच सय पाँच यात्रु काठमाडाँैँ भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक तीन सयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० बढी र अन्तर्राष्ट्रियमा दैनिक एक सय हाराहारी उडान हुन्छ ।
राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए
मुलुकको सङ्घीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार आठ सय १८ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार तीन सय ६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार दुई सय १८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बर्सात्का कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उनले सरकारलाई आग्रह गरे ।
पछिल्ला दिनमा काठमाडौं गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दशैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको संख्या बढेको बताए । उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त संख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ ।