काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको साधारण सेयर (आईपीओ)मा मागभन्दा २२ दशमलव २५ गुणा बढी आवेदन परेको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार साधारण सेयरमा २३ लाख लगानीकर्ताले आवेदन दिएका हुन् । जम्मा ११ लाख ९० हजार छ सय ४० कित्ता सेयरको सर्वसाधारणले आवेदन दिन मिल्ने गरी खुलेको साधारण सेयरमा २३ लाख ५२ हजार चार सय ९३ जनाले दुई करोड ६५ लाख एक हजार एक सय ५० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले यही असोज ५ गतेसम्म साधारण सेयरको बिक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४५ हजार दुई सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले पाँच प्रतिशत अर्थात् ७२ हजार छ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार पाँच सय ६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ । अब भने कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार छ सय ४० कित्ता सेयर निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको थियो ।