काठमाडौं । नेपालको पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इ–सेवाले हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग सहकार्यमा चाडपर्वलाई लक्षित गर्दै नयाँ बीमा योजना ‘फेस्टिभ केयर’ सार्वजनिक गरेको छ । नेपालीहरूको महान् चाडपर्व दशैँलाई लक्षित गरी ल्याइएको यो विशेष बीमा सुविधा असोज ६ गतेदेखि असोज २० गतेसम्म उपलब्ध हुनेछ ।
यो बीमा प्याकेज विशेष गरी चाडपर्वका बेला आकस्मिक जोखिम वा अस्पताल भर्ना हुनेजस्ता अप्रत्याशित परिस्थितिबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो । ‘फेस्टिभ केयर’ मात्र २० रुपैयाँमा उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकले १५ दिनसम्मको अवधिका लागि दुई लाख ३० हजार रुपैयाँसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थामा ३५ प्रतिशतसम्म छुट पनि पाउनेछन्, जसले चाडपर्वको बेला मात्र नभई दैनिक जीवनमा पनि उपयोगी हुनेछ ।
इ–सेवाले आफ्ना प्रयोगकर्ताको सुरक्षा र हेरचाहलाई सधैँ पहिलो प्राथमिकतामा राख्दैआएको छ । चाडपर्वमा हुने यात्राको चाप र आकस्मिक जोखिमलाई ध्यानमा राखी ल्याइएको ‘फेस्टिभ केयर’ बीमा योजनाले ग्राहकलाई सहज, सुरक्षित र निश्चिन्ततासहित पर्व मनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।