काठमाडौं । मन्जुश्री फाइनान्सको स्मार्ट एप सञ्चालनमा आएको छ । फाइनान्सले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्नो मन्जुश्री स्मार्ट एपबाट निःशुल्क रकमान्तर गर्ने सुविधा ग्राहकका लागि ल्याएको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आफ्नो मन्जुश्री स्मार्ट एपबाट निःशुल्क रकमान्तर गर्न मिल्ने यो सुविधा दशैँको घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्म उपयोग गर्न मिल्ने छ । यो सुविधाअन्तर्गत ग्राहकहरुले मन्जुश्री स्मार्ट एपको फन्ड ट्रान्सफरमार्फत फोन पे डाइरेक्ट तथा इन्स्टाफन्ड ट्रान्सफरमार्फत जुन माध्यमबाट पनि निःशुल्क रकमान्तर गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको लागि विभिन्न सुविधाहरु ल्याइरहेको मन्जुश्रीले यो दशैँमा निःशुल्क रकमान्तरको योजना ल्याएको छ ।
हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरी करिब १९ दशमलव दुई अर्ब कर्जा परिचालन गरेको फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालको मितिसम्म एक लाख ५५ हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।