काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिकरुपमा सार्वजनिक गरेको छ । ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीसहित आएका यी दुवै स्मार्टफोनहरु अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन् ।
कम्पनीका अनुसार शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेटभन्दा बाहिर जान नचाहने प्रयोगकर्ताहरूका लागि जेडटीई नुबिया ए५६ उपयुक्त छनोट हुनेछ । यसमा छ दशमलव ७५ इन्चको एचडी प्लस स्क्रिन छ, जसले दृश्य अनुभवलाई पूर्ण बनाउँछ । साथै, पाँच हजार मिलि अम्पियर प्रतिघण्टा क्षमताको ब्याट्री भएकाले ढुक्क भएर लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिन्छ । यसमा भएको अक्टा–कोर टी७२०० चिपसेटले मल्टिटास्किङ गर्न अत्यन्त सहज हुन्छ । १२ जीबीको र्यामलाई ८ जीबीसम्म भर्चुअल एक्सपाण्ड गर्न सकिन्छ भने एक सय २८ जीबीको स्टोरेज भएकाले नुबिया ए५६मा दैनिक आवश्यकताका कामहरू उच्च कार्यसम्पादनको साथ गर्न सकिन्छ । यस स्मार्टफोनको मूल्य मात्र ११ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यसमा १८ महिनाको वारेन्टी उपलब्ध छ । जेडटीई नुबिया ए५६ शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ ।
साथै, जेडटीई नुबिया ए३६ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्नेछ । यसमा १२ जीबीको र्याम (८ जीबी भर्चुअल एक्सपान्डसहित), ६४ जीबीको स्टोरेज, छ दशमलव ७५ इन्चको ठूलो एचडी प्लस स्क्रिन र अक्टा–कोर टी७२०० चिपसेट रहेको छ । पाँच हजार मिलिअम्पियर प्रतिघण्टा क्षमताको शक्तिशाली ब्याट्रीले अविरल शक्ति प्रदान गर्दछ । यो फोन ५० महिनासम्म ढुक्क भएर चलाउन सकिने कम्पनीले जानकारी दिएको छ । जेडटीई नुबिया ए३६ को मूल्य १० हजार नौ सय ९९ रुपैयाँ राखिएको छ । यसमा पनि १८ महिने वारेन्टी उपलब्ध रहेको छ । यस्तै, यो फोन पनि शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट खरिद गर्न सकिनेछ ।
जेडटीई नुबिया ए५६ र जेडटीई ए३६ को आगमनसँगै ब्रान्डले नेपाली बजारमा आफ्ना प्रस्तावहरू विस्तार गरेको छ । यसले प्रयोगकर्ताहरूलाई प्रमुख सुविधासहित, भरपर्दो कार्यसम्पादन र लामो समयसम्म टिक्ने शक्ति भएका स्मार्टफोनहरू अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको छ ।