काठमाडौं । नेपाल टेलिकमले दशैँ–तिहार–छठ अफर उपलब्ध गराएको छ । अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु रहेका छन् ।
यस अफरअन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क पाँच सय रुपैयँ मिनाहा गरिएको छ । यसैगरी, दशैँ–तिहार–छठ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि चार सय ९९ रुपैयाँमा पाँच जीबी फेस्टिबल अनलिमिटेड र छ सय ९९ रुपैयाँमा १० जीबी फेस्टिबल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ । फेस्टिबल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर युज पोलिसी (एफयूपी)मा तोकिएको पाँच जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि दुई एमबीपीएस गतिमा र फेस्टिबल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर युज पोलिसीमा तोकिएको १० जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि तीन एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।
साथै, दुई सय ५० रुपैयाँमा एक हजार मिनेट अल नेट भ्वाइस सुविधासहितको जोयफुल मिनेट्स र ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट स्टार१४१५ स्टार११ ह्याक्स डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ । कम्पनीले विभिन्न पर्वहरुका अवसरमा यसप्रकारका अफरहरु सार्वजनिक गर्ने गरेको छ ।