पोखरा । अर्थमन्त्री रामेश्वर खनालसँग पोखराका पर्यटन व्यवसायीहरूले भेट गरी पर्यटन क्षेत्रले भोगिरहेको समस्या तथा पुनरुत्थानका उपायहरूबारे ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको नेतृत्वमा सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेको टोलीले मन्त्री खनाललाई पर्यटन क्षेत्रमा आएको संकटबारे जानकारी गराउँदै विभिन्न मागसहित ध्यानाकर्षणपत्र पनि बुझाएको हो ।
व्यवसायीहरूले हालैको ‘जेन–जी’ आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै सो घटनामा संलग्न समूह तथा व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् । त्यस्तै, पीडित व्यवसायीलाई शीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘पर्यटनको मुख्य सिजन सुरु हुनै लाग्दा आएको संकटले उद्योग धराशायी हुने अवस्था छ । आगामी फागुनमा तय गरिएको निर्वाचन र राजनीतिक अस्थिरताका कारण पर्यटक आगमनमा समेत ठूलो गिरावट आउनसक्ने देखिन्छ ।’ व्यवसायीहरूले बैंकबाट लिएको ऋण र ब्याज तिर्न मुस्किल परेको जनाउँदै चैत मसान्तसम्म किस्ता र ब्याज भुक्तानी म्याद थप गर्न, साथै जरिवाना नलाग्ने व्यवस्था गर्न माग गरेका छन् । साथै, व्यवसाय सञ्चालनमा थप सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ ।
त्यसैगरी, पर्यटन उद्योगलाई दिइने कर्जाको भुक्तानी अवधि कम्तीमा २५ वर्ष बनाउने, पुनःकर्जा सुविधा उपलब्ध गराउने, साना तथा मझौला व्यवसायीका लागि १५ लाखसम्मको शून्य ब्याजदरमा व्यवसाय जीवन रक्षा कर्जा उपलब्ध गराउने माग राखिएको छ । वैदेशिक पर्यटक आकर्षणमा सहयोग पु¥याउने गरी मूल्य अभिवृद्धि कर (भ्याट) घटाउन, हवाई टिकट र पदयात्रामा लाग्ने भ्याट खारेज गर्न, निर्देशित पदयात्रा क्षेत्रको अनुमति शुल्क पुनरावलोकन गर्न, कोरला नाका सञ्चालनका लागि पहल गर्न र पर्यटन व्यवसायलाई उद्योग सरहको सुविधा दिने बजेट घोषणालाई कार्यान्वयन गर्न माग गरिएको छ ।
भेटमा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, नाट्टा गण्डकी अध्यक्ष किशोर दाहाल, पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेलगायतको सहभागिता थियो ।
परिषद्का अध्यक्ष पहारीका अनुसार व्यवसायी टोलीले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन क्षेत्रका चुनौतीबारे छलफल गरेको थियो ।