काठमाडौँ – सरकारले रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ। जेन–जी आन्दोलनको दमनमा संलग्न भएको आरोप खेपिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाउँदै दंगाललाई जिम्मेवारी तोकिएको हो। दंगाल यसअघि रक्षासचिवका साथै गृह प्रशासनकै क्याडरका रूपमा काम गरिसकेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ। दुवाडी भिजिट भिसा प्रकरणमा नाम मुछिए पनि पछिल्लो सरकार परिवर्तनपछि करिब डेढ सातासम्म गृहमन्त्रालयमै जिम्मेवारीमा रहेका थिए। तर, आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेको भन्दै उनलाई छानबिन गर्नुपर्ने माग तीव्र भएपछि सरकार उनको स्थानान्तरणमा पुगेको हो। स्रोतका अनुसार, दुवाडीलाई अब योजना आयोगको सचिवालयमा जिम्मेवारी तोकिएको छ।