काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी सुन्धारा कारागार फर्किएका छन्। २४ भदौमा जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि मंगलबार पुनः कारागार फर्किएको कारागार स्रोतले जानकारी दिएको छ।
रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै करिब ३३ सय कैदीबन्दी निस्केका थिए भने देशभरका विभिन्न कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म करिब आधाजसो कैदीबन्दी मात्र कारागार फर्किएका छन्।
रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुद्दा चलिरहेको छ। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि कारागारमा रहेका छन्।
उनीसँगै सोही प्रकरणमा संलग्न तत्कालीन सचिव टेकनारायण पाण्डेसमेत सुन्धारा कारागारबाट निस्केका थिए। तर, पाण्डे अहिलेसम्म कारागार फर्केका छैनन्।