मस्को । रूसले सोमबार अमेरिकासँग भएको परमाणु हतियार भण्डारण सीमाको पालना अवधि एक वर्षको लागि विस्तार गर्न आग्रह गरेको छ । सन् २०१०मा हस्ताक्षर गरिएको आणविक हतियार नियन्त्रण (न्यू स्टार्ट ट्रिटी)ले प्रत्येक पक्षले तैनाथ गर्नसक्ने आणविक हतियारको संख्यालाई सीमित गर्दछ । यो दुई आणविक शक्तिहरूबीचको अन्तिम प्रमुख हतियार प्रसार सम्झौता हो ।
यो सन् २०२६ फेब्रुअरी ५ मा समाप्त हुनेछ । कुनै पनि पक्ष विस्तारको लागि सहमत भएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन बैठकमा भने, ‘रुस २०२६ फेब्रुअरी ५ पछि एक वर्षसम्म नयाँ स्टार्ट सन्धिको केन्द्रीय मात्रात्मक सीमाहरूको पालना गर्न तयार छ ।
उनले वाशिङटनसँग ‘रणनीतिक हतियारको होडबाजी’ रोक्नका लागि यो उपाय आवश्यक रहेको बताएका छन् । ‘हामी विश्वास गर्छौँ कि यो उपाय तब मात्र कार्यान्वयन भएको मानिनेछ जब संयुक्त राज्य अमेरिकाले यस्तै तरिकाले कार्य गर्दछ र रोकथाम क्षमताको विद्यमान सन्तुलनलाई कमजोर पार्ने वा बिगार्ने कदमहरू चाल्दैन’, रूसी नेता पुटिनले थपे ।
रूसले सन् २०२३ मा ‘न्यू स्टार्ट ट्रिटी’मा आफ्नो सहभागिता रोक्यो तर स्वेच्छाले सन्धिमा संख्यात्मक सीमाहरू पालना गने कार्म जारी राखेको छ । सम्झौताले दुवै पक्षलाई अधिकतम एक हजार पाँच सय ५० सम्म रणनीतिक आणविक हतियार राख्ने अनुमति दिन्छ । यो सन् २००२मा निर्धारित सीमाको तुलनामा लगभग ३० प्रतिशतले कम हो । एएफपी