काठमाडौं, चालू आर्थिक वर्षको दुई महिनामा नेपालको वैदेशिक व्यापार ह्वात्तै बढेको छ । वैदेशिक व्यापार साउन र भदौमा २२ दशमलव ५४ प्रतिशतले बढेको हो । पहिलो दुई महिनामा कुल तीन खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ । गत वर्ष सोही अवधिमा दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको व्यापार भएको थियो । यस अवधिमा नेपालको आयात १६ दशमलव २३ प्रतिशत र निर्यात ८८ दशमलव ५७ प्रतिशतले बढेको तथ्याङ्क छ । विभागका अनुसार तीन खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको आयात भएको छ । त्यसैगरी, ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजारको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा आयात दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार र निर्यात २५ अर्ब ९ करोड ३१ लाख तीन हजार थियो । उक्त वैदेशिक व्यापारमा नेपालको व्यापारघाटा आठ दशमलव ५९ प्रतिशतले बढेको विभागले जनाएको छ ।