काठमाडौं,खाडी क्षेत्रबाट दशैँका लागि घर आउने नेपालीहरु एयर इन्डियामार्फत् लर्काे लागेर स्वदेश फर्किन थालेका छन् । नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अचाक्ली महँगो भाडा लिएपछि उनीहरुले भारतीय विमान कम्पनी रोजेका हुन् । दुबईबाट काठमाडौं आउँदा नेपाल एयरलाइन्सले ३८ हजार रुपैयाँसम्म असुल्ने गरेको छ भने दिल्ली ट्रान्जिट भएर एयर इन्डियाबाट काठमाडौं फर्किँदा २७ हजार रुपैयाँसम्ममा फर्किने गरेको पाइएको छ । नेपाल एयरलाइन्सले सुविधा पनि राम्रो नदिने र भाडा पनि बढी लिने गरेकाले कम्पनीले नै एयर इन्डियाको राम्रो खाना सुविधा भएको सस्तो टिकट व्यवस्था गरेर पठाएको दुबईबाट दिल्ली ट्रान्जिट बनाएर स्वदेशमा फर्किँदै गएका दार्चुलाका एक युवकले बताएका छन् । दुबईमा लुलु कम्पनीमा कार्यरत ती युवकका अनुसार नेपाल एयरलाइन्स सेवा झूर छ । टिकट महँगो छ, त्यही भएर कम्पनीले एयर इन्डियासँग कुरा गरेर टिकट काटिदिने गरेको छ । एयर इन्डियाका प्रायः उडान अहिले चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीहरुले भरिभराउ देखिएको छ ।