काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। आजको बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने तयारी गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए।
माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। सो प्रस्तावअनुसार पार्टीका सबै कमिटीहरू भङ्ग गर्ने विषयमा छलफल भई भोलिको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आगामी निर्वाचनको तयारी तथा पार्टीभित्र बढ्दो अन्तरसंघर्षसमेत छलफलको विषय बनेको छ। जेनजी आन्दोलनपछि प्रचण्डलाई समेत नेतृत्व छाड्नुपर्ने दबाब पार्टीभित्र तीव्र बन्दै गएको माओवादी नेताहरू बताउँछन्।