काठमाडौंं । सरकारले पुनःनिर्माण कोष स्थापना गरेको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न कोष खडा गरिएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ को निर्णयबाट भौतिक पूर्वाधार पुनःनिर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरूत्थान र राहतलगायतका कार्यको लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना गरिएको हो ।
आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनःनिर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनःनिर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले कोष खडा गरिएको सह–सचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
नेपाल सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर–आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनःनिर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकारले सबैमा आह्वान गरेको छ । यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालू आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने छ ।
राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’को खाता नं १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।