काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । नेप्सेको हालको नेतृत्वले बिचौलियाको चाहनाअनुसार काम गरेको तथा सेवा सुविधासहितका अन्य विषयहरुलाई लिएर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
अर्थ मन्त्रालय अनावश्यक खर्च कटौटी गर्न परिपत्र जारी गरेसँगै धितोपत्र बोर्डका कर्मचारीहरुले चाडपर्वको मुखमा आफूले खाईपाई आएको सेवासुविधा कटौती हुन नहुने भन्दै आन्दोलनमा उत्रिएका हुन । यसैगरी, नेप्सेका कर्मचारीहरु पनि बोनस सेयरको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले पाँच प्रतिशत बोनस पाउन पर्छ भन्नै माग राख्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलनकै क्रममा कर्मचारीहरुले नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंलाई मंगलबार राति अबेरसम्म कार्यकक्षमा नै थुनेर राखेका थिए । पछि नेपाल प्रहरीले हस्तक्षेप गरी अध्यक्ष र प्रमुख कार्यकारी दुवैलाई उद्धार गरी राति घर पठाएको थियो ।
यसैबीच, नेप्सेमा कार्यरत कर्मचारीहरुको छाता संगठनले भने नेप्सेका अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंले बिचौलियाका एजेन्डाअनुसार काम गरेको आरोप लगाएका छन् । संगठनका अध्यक्ष नवराज थापाका अनुसार उच्च व्यवस्थापनसँग मंगलबार पनि यसबारेमा छलफल भए पनि नेतृत्वले सुध्रन नचाएकाले आन्दोलन गर्नुपरेको हो ।
छलफलका क्रममा व्यवस्थापन पक्षबाट सुरक्षा चुनौती बढेको भन्दै प्रहरी बोलाइएको र प्रहरी समेतको रोहबरमा छलफल भए पनि कुनै निकास ननिस्किएको संघले अध्यक्ष थापाले जानकारी दिए । यो अवस्थामा अध्यक्ष र प्रमुख कार्यकारीको राजीनामा नआएसम्म आन्दोलन जारी राख्छौँ, संघले अध्यक्ष थापाले भने ।