काठमाडौं, भदौ ९ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका क्रममा प्राप्त अनुभवन साट्न आयोजना गरेको राष्ट्रिय परिसंवाद सुरु भएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको परिसंवादमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा निजी आवास, शैक्षिक संस्थालगायत पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । साथै उनले प्राधिकरण अनुभव र सिकाइको अभिलेखीकरणको प्रक्रियामा रहेको जानकारी दिए । पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको सफलता, सिकाइ र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई समेत उपयोगी हुने उनको भनाइ थियो । ९० प्रतिशतभन्दा बढी लाभग्राही पुनर्निनिर्माण प्रक्रियामा प्रवेश गरेको उनले बताए । उनका अनुसार सात लाख ९० हजार लाभग्राहीले अनुदान सम्झौता गरेकामा छ लाख तीन हजार अर्थात् ७६ प्रतिशतले अनुदानको तेस्रो किस्ता लिइसकेका छन् । पाँच लाखभन्दा बढी लाभग्राहीले घर पुनर्निनिर्माण सम्पन्न गरेका छन् । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यक्रमले पुनर्निनिर्माण र पुनःस्थापनाका क्रममा भएका कामका बारेमा व्यवस्थित छलफल गर्ने अवसर हुने बताए । परिसंवादको पहिलो दिन सोमबार निजी आवास पुनर्निनिर्माणका विभिन्न आयाम समेटिएका १५ कार्यपत्र प्रस्तुत भएका छन् । पहिलो सत्रमा निजी आवासको स्ट्रक्चरल इञ्जिनियरिङ तथा प्रबलीकरणका विषयमा लिभा श्रेष्ठ, डा. निकोला जिओर्दानो, निमा स्थापित र सन्तोष यादवले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा ग्रामीण आवास पुनर्निनिर्माण सम्बन्धमा प्रेम उपाध्याय सुवेदी, देवराज गौतम, गौरवकुमार पन्थी, डा. क्रेस्टिन रेगर र रूपलाल ऐडीले कार्यपत्र प्रस्तुत गरे । तेस्रो सत्रमा सहरी आवास पुनर्निनिर्माण सम्बन्धमा छलफल भएको थियो । यो सत्रमा कार्यपत्र प्रस्तुत गर्नेमा डा. चन्द्रबहादुर श्रेष्ठ, सुवास घिमिरे, आस्था शिवाकोटी, डा. राजन सुवाल र मनिन्द्र मल्ल थिए । तीन सत्रको क्रमशः डा. हरिराम पराजुली, डा. चन्द्रबहादुर श्रेष्ठ र किशोर थापाले सहजीकरण गरेका थिए ।