काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्धजलाशय दुधकोशी—२ (जलेश्वर) जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनाले असोज ७, २०७७ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिनुका साथै मंसिर ६, २०७८मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा आयु मलुन हाइड्रोपावर लि., कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ । सहवित्तीयकरणमा एभरेष्ट बैंक सहअगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रुपमा रहेका छन् भने कुल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रुपैयाँ रहनेछ ।
सो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब चार सय १७ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठूलो स्वतन्त्र ऊर्जा उत्पादकको मध्यको रुपमा रहने बैंकले जानकारी दिएको छ ।