काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले निजी क्षेत्रको पुनर्उत्थानका लागि सरकारले ल्याएको राहत प्याकेजको स्वागत गरेको छ ।
हालै जेन–जी आन्दोलनका कारण प्रभावित उद्योग, व्यापार र अटोमोबाइल व्यवसायमा परेको नकारात्मक असरलाई सम्बोधन गर्दै सरकारले विशेष राहत प्याकेज ल्याएको थियो । यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्र्जीवित गर्न सकिने नाडाले जनाएको छ । नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्र्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी आन्दोलनका कारण गम्भीररूपमा प्रभावित अटोमोबाइल उद्योग तथा व्यवसायलाई पुनर्र्जीवित गर्न विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो ।
त्यस अनुरोधलाई सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गरी निर्णयमा परिणत गरेकाले उद्योगी व्यवसायीको आत्मबल बढेको नाडाले जनाएको छ । यसले सरकार निजी क्षेत्रको आवाजलाई कदर गर्ने मात्र नभई तत्काल कार्यान्वयनमा जान तयार रहेको प्रमाणित गरेको नाडाको भनाइ छ ।
‘अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्र हो । यसले प्रत्यक्ष र अप्रत्यक्षरूपमा हजारौँ रोजगारी सिर्जना गर्दछ, कर–राजस्वको ठूलो हिस्सा प्रदान गर्दछ र आधुनिक जीवनशैली तथा गतिशील अर्थतन्त्रको मेरुदण्ड बनेको छ’, नाडाले भनेको छ, ‘तर पछिल्ला घटनाले गर्दा यो क्षेत्रमा ठूलो धक्का पुगेको थियो । प्रदर्शन र अशान्तिबाट धेरै सोरुम, गाडी, गोदाम र सम्पत्ति क्षतिग्रस्त भए, आपूर्ति शृङ्खला अवरुद्ध भयो र ग्राहकहरूको विश्वासमा समेत असर पर्न पुग्यो ।’ यस्तो कठिन अवस्थामा सरकारले ल्याएको राहत प्याकेज उद्योगी व्यवसायीहरूका लागि ठूलो ढुक्क र हौसला दिने आधार बनेको नाडाले उल्लेख गरेको छ ।
सरकारले बीमा सर्भेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा क्षतिको ५० प्रतिशत अग्रिम भुक्तानी, पुनर्बीमा ढिलाइ भएमा बीमा कम्पनीबाट अग्रिम भुक्तानीको व्यवस्था, क्षति भएका व्यावसायिक सवारी खरिदमा कम्तीमा ८० प्रतिशत बैंक कर्जा सुविधा, आयातमा ५० प्रतिशत भन्सार र अन्तःशुल्क छुट, राष्ट्रिय पुनर्निर्माण कोषमा योगदानलाई कर कटौतीमा गणना, बीमा नभएका मौज्दातको मूल्याड्ढनमा आधारित कर कटौती, प्रभावित व्यवसायका लागि ऋण भुक्तानी अवधि थप, सहुलियत दरमा कर्जा सुविधा, रोजगार सुरक्षाका लागि दुई प्रतिशत अनुदानसहित विशेष सहुलियत कर्जा र दशैँबाहेक अन्य बिदामा पनि बैंक र राजस्व निकाय खुला रहनेलगायतका विशेष व्यवस्था गरेको छ ।
नाडाका अनुसार यी प्रावधानहरूले प्रभावित अटोमोबाइल उद्योगी तथा व्यवसायीहरूलाई प्रत्यक्ष राहत दिलाउने अपेक्षा गरिएको छ । साथै, यी सुविधाहरू सम्पूर्ण सवारी व्यवसायमा विस्तार गर्नुपर्ने, भन्सार सुधार, पूर्वाधार विस्तार र दीर्घकालीन नीतिगत स्थायित्व आवश्यक रहेको समेत उल्लेख गरेको छ । नाडाले सरकारसँग सहकार्य गर्दै राहत प्याकेजका सबै प्रावधानलाई प्रभावकारी कार्यान्वयनमा पु¥याउने प्रतिबद्धता पनि जनाएको छ । ‘सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र देशको अर्थतन्त्र पुनरुत्थानको बाटोमा अग्रसर हुन सक्छ’, नाडाले भनेको छ ।
सरकारको राहत प्याकेजले अटोमोबाइल व्यवसायमा पुनः स्थायित्व ल्याउने, रोजगारी सुरक्षित गर्ने र आर्थिक पुनरुत्थानमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । उद्योग र सरकारबीचको विश्वासलाई बलियो बनाउने दिशामा यो निर्णय एक महत्वपूर्ण मोड सावित हुने नाडाको विश्वास छ ।