चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहरुलाई नेपाल प्रहरीले विगत दुई दिनदेखि लक्षित गर्दै निःशुल्क बस सेवा थालेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए ।
पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको उनले बताए ।
सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ । समय समयमा पहिरो खसेकाले पन्छाउन कठिन भएको हुँदा पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो।