नेपालको इतिहास राजनीतिक दृष्टिले भन्नुपर्दा व्यक्तिगत स्वतन्त्रताको लागि नेपालीहरूले धेरै पटक आन्दोलन र संघर्ष गरेका छन् । हुन त विभिन्न पेसा व्यवसायले पनि धेरै पटक आन्दोलन गरेका छन् । पेसागत हकहितको सुरक्षा गर्न, समाजलाई अगाडि बढाउन पनि धेरै संघर्ष गर्नुपरेको छ । जस्तैः राणा शासनविरुद्धको विद्रोह, २०४६ सालको जनआन्दोलन, २०६२/६३को ऐतिहासिक आन्दोलन—यी सबै नेपाली जनताको स्वतन्त्रताको लागि गरिएको बलिदानका उदाहरण हुन् । त्यसैगरी समाजमा भएको व्याप्त भ्रष्टाचार रोक्न पनि आन्दोलन गर्नुपरेको छ । तर कानुनी राज्यमा सबैलाई कानुनले बाँध्नुपर्ने हो, तर किन नेपालमा भने जहिले संघर्ष र आन्दोलन मात्रै गर्नुपर्ने अवस्था आएको छ । यसकै नाममा कहिलेकाहीँ त लुटपाट र हत्या हिंसा पनि भइरहेछ ।
स्वतन्त्रता भनेको प्रत्येक नागरिकको मौलिक अधिकार हो, एक जनाको हकहितका लागि अर्को जनाले दुःख पीडा पाउनु भनेको अर्काको हकअधिकार खोस्नु पनि हो । यो गर्नु कदापि उचित होइन । तर आजकाल स्वतन्त्रताको नाममा ‘छडापन’ बढ्दो क्रममा छ । वास्तवमा भन्नु हो भने अन्य अमानवीय कार्य गरी अरूलाई दुःख हुने काम गर्नु भनेको छडापन हो । यदि विचार, वाक स्वतन्त्रता, धर्म, संस्कृति र जीवनयापन गर्ने स्वतन्त्रता एउटा मानिसले अरूलाई दुःख नदिई पाउँछ भने त्यो स्वतन्त्रता हो तर विडम्बना, अहिले नेपालमा स्वतन्त्रताको नाममा अरूको अधिकार खोसी, नियमकानुन बाहिर गई, सीमा नाघेर धेरै मानिसहरू मर्यादाबाहिर गई अगाडि बढेको हुनाले, धेरै आउने पुस्ताले पनि नचाहिने कुरा सिकिरहेका छन् । स्वतन्त्रता हुनु भनेको जसलाई जे मन लाग्यो त्यो गर्न पाउने अधिकार भने होइन । त्यसैले स्वतन्त्रता भनेको नियम र मर्यादाभित्र रही आफ्ना अधिकार सुनिश्चित गर्नु हो र छडापन भनेको सीमा नाघ्ने गरी अरूलाई आपत् पारेर वा कानुनलाई मिचेर अगाडि बढ्नु हो ।
नेपाल बुद्ध जन्मेको देश हो । यस देशले संसारलाई शान्ति, करुणा र सहअस्तित्वको सन्देश दिनुपर्छ तर यतिबेला यही भूमिमा भाइ–भाइबीच झगडा, फुटको अवस्था, एक–अर्कालाई होच्याउने, दबाउने, अर्काको सम्पत्ति नष्ट गर्ने प्रयास गर्ने, जनतामा आक्रोस फैलाउने वातावरण बनाउनेदेखि मिचाहपान र हेपाहपनको प्रवृत्ति बढेको छ । स्वतन्त्रताको वास्तविक मूल्य बुझ्न नसक्दा हाम्रो समाज छडापनको दिशातर्फ धकेलिएको छ । जसलाई नियन्त्रण गर्नु आजको आवश्यकता भएको छ । सुरक्षाकर्मीको मनोबल बढाई, शान्तिसुरक्षा कायम गर्नु, जनतालाई शान्तिको स्वास फेर्न पाउने वातावरण बनाउनु, कानुनी राज्य हुनु, सरकार र नागरिक उत्तिकै जिम्मेवार भई एउटा सभ्य समाजको निर्माण गर्नु आजको आवश्यकता र चुनौती भएको छ । समाज सभ्य देखिनु भनेको हाम्रो स्तर बढ्नु हो, अन्तर्राष्ट्रियस्तरमा हाम्रो गौरव बढ्नु हो । देशको शिर उच्च राख्न हामी सभ्य हुनुपर्छ, जुन बाटोको अनुशासन, समाजको अनुशासन, राज्यको कानुनको बाटोमा हिँड्ने अनुशासन हो ।
नेपाल मानव विकासको सूचकांकमा पछाडि धकेलिइरहेको अवस्थामा स्वतन्त्रताको नाममा छडापनमा जानु कदापि राम्रो कुरा होइन । सभ्य समाजमा सबै नागरिकले आफ्ना देश र अन्तर्राष्ट्रिय कानुनलाई समेत सम्मान गर्छन् । बाटोमा हिँड्ने, सवारी चलाउने वा सार्वजनिक स्थल प्रयोग गर्दा नियम पालन गर्ने बानी हुन्छ । सडक, बजार वा घरआँगन सफा राख्ने, फोहोर उचित ठाउँमा फ्याँक्ने, सार्वजनिक सम्पत्ति जोगाउने, आफ्नो वरपरको वातावरणप्रति सचेत हुने, नियम पालन गर्ने, जात, धर्म, लिंग, वर्ग आदिमा भेदभाव नगर्ने, छिमेकी वा सहकर्मीबीच सहयोगको भावना राख्नेदेखि, मौलिक संस्कृति, भाषा र परम्परालाई सम्मान गर्ने तथा साना–तिना कुराहरूमा मतभेद हुँदा हुँदै पनि सबै कुरा मिलेर बस्नेले सभ्य समाज हो भन्ने पहिचान दिलाउँछ । तर हामीकहाँ अझै पनि निम्न लिखित कुराहरूमा अल्झिएर छडापनलाई बढावा दिइरहेका छौँ ।
बाटोमा मिचाहपान
सडकमा हिँड्दा होस् वा गाडी चलाउँदा हामीकहाँ अझै मिच्ने प्रवृत्ति छ । भिडभाडमा पनि सवारीसाधन प्रवेश गराई, हर्न बजाउने । आफू गाडी कुदाउने अनि हर्न बजाउँदै हिँड्ने चलन यत्रतत्र पाइन्छ । सडक जीवनलाई समाजको ऐना मानिन्छ । आज नेपालका सडकमा देखिने दृश्य स्वतन्त्रताको दुरुपयोगको प्रत्यक्ष प्रमाण हो । पैदलयात्रीहरू पनि जथाभावी हिँड्ने चलन छ । कतिपय मानिसहरू ट्राफिक नियम पालना नगरी जसरी पनि बाटो काट्छन् । सडकमा जेठा नागरिक वा बालबालिकालाई प्राथमिकता दिने चलन छैन, बरु पेल्दै हिँड्ने चलन छ । नेपालमा हिँड्ने पनि लेन छन् । दायाँबायाँ कताबाट हिँड्ने ज्ञान न नागरिकलाई छ न त राज्यले सिकाएको छ । त्यस्तै गरी सवारी चालकहरू, मोटरसाइकल, टेम्पो वा गाडी चालकहरूले छोटो समयमा गन्तव्य पुग्ने नाममा जथाभावी ओभरटेक गर्छन् । घुम्ती र मोड नहेरी हावातालमा कुदाउँछन्, रातो बत्तीमै पनि भाग्न खोज्छन्, अनावश्यक हर्न बजाउँछन् र अझै पनि जथाभावी पार्किङ गर्ने प्रवृत्ति यत्रतत्र पाइन्छ । यस्तो अधैर्यताले नेपालमा दैनिक दुर्घटना निम्त्याइरहेको छ । अझ भनौँ, चाडपर्वमा त धेरै यात्रु बोकी हिँड्दा धेरैको ज्यान धरापमा पर्ने निश्चित छ । यस्ता कुराले जीवन त गुम्छ नै तर सडकवारिका मानिस सबै नै तनावमै हुन्छन् । यसले देखाउँछ कि धैर्य, सहिष्णुता र शिष्टाचारजस्ता मूल्यहरू कमजोर हुँदै गएका छन् । स्वतन्त्रता भनेको आफ्नो बाटो रोज्ने अधिकार हो, तर त्यो अधिकार अरूको जीवनलाई जोखिममा पार्ने गरी प्रयोग गर्नु छाडापन हो । त्यसैले समाज सभ्य हुन सडक सभ्य हुनुपर्छ ।
सानो–सानो कुरामा झगडा
पहिलेकै नेपाली समाजमा धैर्य, आपसी समझदारी र सहिष्णुता प्रशस्त थियो तर अहिले सामान्य विवाद पनि ठूलो मुद्दा बन्न थालेको छ । घरायसी मामिलामा सामान्य मतभेदले परिवार टुटिरहेको छ । छिमेकीबीच सानो विषयलाई लिएर समेत मुद्दा–मामिला हुने, झगडा वा हातपातसम्म हुने अवस्था भइसकेको छ । यसका साथै सामाजिक सञ्जालमा राखिएको साधारण टिप्पणीले समेत वैमनस्य फैलाउँदै गएको छ । स्वतन्त्रता भनेको आफ्नो विचार राख्ने हक हो, तर अरूको विचारलाई सहन नसक्ने अवस्था सिर्जना हुन्छ भने त्यो छडापन हो ।
आदर सत्कारमा कमी
नेपाली संस्कृतिमा ‘ठूलालाई आदर र सानालाई माया’ भन्ने परम्परा मौलाएको थियो । आज भने यस संस्कारमा कमी आएको छ । ठूलाई पनि सम्मान नभएको देखिएको छ । युवापुस्ताले पुराना पुस्तालाई ‘पुरानो सोच’ भन्दै बेवास्ता गरेमा त्यो गम्भीर विषय हुन्छ । यस्तो गरेमा समाज बिग्रन्छ । ठूला पुस्ताले पनि नयाँ पुस्ताको विचारलाई सम्मान गर्नुपर्छ । त्यसै विद्यालय, परिवार र समाजमा आदर्श प्रस्तुत गर्ने अभ्यास कमजोर हुँदै गएको छ । विद्यालय शिक्षाले के दियो अब सोच्ने बेला आएको छ । अब पुस्ताबीचको सम्बन्धमा खाडल ल्याउनु हुँदैन, सम्मान र माया बढाउने बेला आएको छ । स्वतन्त्रताको नाममा अभद्रता र अवज्ञा बढ्नु समाजका लागि खतरनाक हुन्छ । सबै मिलेर अगाडि बढ्नु हाम्रो कर्तव्य हो । स्वतन्त्रता भनेको आदरमा कमी ल्याउनु होइन ।
सहकार्य र सहयोग भावनाको कमी र समाजमा चिनजानको कमी र अहम् भावना
सामाजिक जीवन आपसी सहयोगमा टेकेको हुन्छ । तर अहिले सहयोगभन्दा पनि प्रतिस्पर्धा, ईष्र्या र दुश्मनी बढी देखिन्छ । समाजमा धेरै किसिमका मानिस बस्छन्, छिमेकीबीच आपत् पर्दा सहयोग गर्नुको सट्टा गालीगलौज हुन्छ । प्राकृतिक विपतिको बेला पनि कतिपय मानिस व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छन् । सामुदायिक विकासका कार्यक्रममा आपसी समन्वय कमजोर भएको छ । यसले समाजलाई विभाजित बनाइरहेको छ । स्वतन्त्रताको सही प्रयोगले समाजलाई एकजुट बनाउनुपर्ने हो, तर छडापनले मानिसहरूलाई आत्मकेन्द्रित बनाइरहेको छ ।
समाजमा चिन्नजानको कमी भएको छ । पहिले गाउँ–टोलमा सबै एक–अर्कालाई चिनेका हुन्थे । अहिले भने आफ्नै छिमेकी पनि अपरिचितजस्ता भएका छन् । मानिसहरू वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा जोडिन रुचाउँछन् । परिवार वा छिमेकीसँग समय बिताउनुभन्दा फोन वा इन्टरनेटमा समय बिताउँछन् । यसले आत्मीयता, विश्वास र नजिकको सम्बन्ध कमजोर बनाइरहेको छ । समाजमा चिनजानको कमी बढ्नु भनेको आत्मीयताको कमी हुनु हो । स्वतन्त्र समाजमा नागरिकबीच विश्वास र आत्मीयता बढ्नुपर्ने हो, तर अहिले उल्टो भइरहेको छ ।
समाजमा बढ्दो अहम् भावना छडापनको अर्को रूप हो । ‘म मात्रै ठीक’ भन्ने सोचले आपसी सहयोगलाई असम्भव बनाउँछ । अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसले अस्वस्थ प्रतिस्पर्धा, द्वेष र समाजमा फुट ल्याएको छ । स्वतन्त्रताको सार भनेकै आपसी सम्मान हो । अहम् भावनाले स्वतन्त्रतालाई छडापनतर्फ धकेल्छ ।
राज्यको जिम्मेवारी
नेपालमा स्वतन्त्रताको नाममा छडापन बढ्दै गएको छ । यसले सामाजिक मात्र होइन, राजनीतिक स्थायित्वमा पनि असर पारिरहेको छ । मानिसहरूले ‘म मात्रै’ भन्ने सोच बढाएका छन् । अर्काको सफलतालाई सहन नसक्ने, जलाउने वा तोडफोड गर्ने प्रवृत्ति बढेको छ । शक्तिशालीले कमजोरलाई दबाउने, अराजक आन्दोलन र तोडफोड गर्ने घटना सामान्य भएका छन् । अब राज्यले यी जिम्मेवारी लिनैपर्छ । देशमा विद्यमान कानुनको पालना गराउने, नियम उल्लंघन गर्नेहरूलाई कडा सजाय दिनुपर्छ । सञ्चार माध्यममा पनि निगरानी गर्ने बेला आएको छ । तथ्य, मर्यादा र सत्यता भएको समाचार मात्र सम्प्रेषण गराउने बेला आएको छ, नत्र भने समाचारको कारणले छडापन ल्याउने र समाचारको कारण समाजमा विभाजन ल्याउने हुँदा जथाभावी समाचारको निगरानी हुनु जरुरी छ । कसैको व्यक्तिगत र सामाजिक अधिकार हनन हुने गरी समाचार प्रसारण गरिनु पनि छडापन हो । अब अनुशासन र दायित्वलाई बुझ्नु जरुरी छ । स्वतन्त्रतालाई अधिकार मात्र नभई जिम्मेवारीको रूपमा बुझाउन शिक्षा, नीति र कानुनी कार्यक्रम ल्याउनु अब आजको आवश्यकता हो । यदि राज्यले अब गम्भीर कदम नचाल्ने हो भने स्वतन्त्रताको नाममा फैलिएको छडापनले अराजकता, हिंसा र अविश्वास बढाउनेछ ।
निष्कर्ष, स्वतन्त्रता नागरिकको अधिकार हो, तर छडापन समाजको रोग हो । नेपालमा अहिले देखिएका समस्या—सडकमा मिचाहपान, सानो कुरामा झगडा, आदर सत्कारमा कमी, सहयोग भावनाको कमी, समाजमा दूरी र अहम् भावना—यी सबै स्वतन्त्रताको गलत प्रयोगका नतिजा हुन् ।
यसको समाधानका लागि नागरिकले आत्मानुशासन, धैर्य, सहिष्णुता, आपसी सहयोग र आदर–सत्कारलाई जीवनमा उतार्नुपर्छ । राज्यले पनि कडा भूमिका खेल्दै नियम–कानुनको पालना गराउनुपर्छ । नेपाल बुद्धको देश हो । यहाँबाट संसारले फेरि शान्ति, सद्भाव र अनुशासनको सन्देश पाओस् । त्यसका लागि स्वतन्त्रतालाई सही तरिकाले बुझ्न र छडापनलाई नियन्त्रण गर्नैपर्छ ।