काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लयमा फर्कन लागेको अर्थतन्त्रमा हालै भएको जेन–जी आन्दोलनले ठूलो धक्का लागेको बताएका छन् ।
महासंघको तर्फबाट अर्थमन्त्री रामेश्वर खनाललाई पूर्वी क्षेत्रको औद्योगिक क्षतिका सम्बन्धमा ज्ञापनपत्र बुुझाउँदै उनले अर्थतन्त्रलाई फेरि लयमा ल्याउन ठूलो समय र सरकारको सक्रिय सहयोगको आवश्यक्ता रहेको बताए । नेपालमा भएको प्रदर्शन र तोडफोडले अन्तर्राष्ट्रियरुपमा नकारात्मक सूचना सम्प्रेषण भएकोप्रति उनले चिन्ता व्यक्त गरे । आन्दोलनले नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुने उल्लेख गर्दै उनले पर्यटन र सेवा क्षेत्रको विकासको लागि राज्यले विशेष सुविधा र सहुलियतहरु दिनुपर्नेमा जोड दिए । नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएकाले यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्नेे अध्यक्ष राउतले बताए ।
अध्यक्ष राउतले बुुझाएको ज्ञापनपत्रमा जेन–जीको आन्दोलन एउटा सकारात्मक सोचबाट अगाडी बढेपनि त्यसबाट सिर्जित परिस्थितिले देशमा ठूलो क्षति हुँदा निजी क्षेत्र पनि प्रभावित भएको उल्लेख छ । हाल गठन भएको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराउने र देशमा सुशासन कायम राख्ने जिम्मेवारी पाएको हुुँदा त्यसका लागि निजी क्षेत्रबाट पूर्णरुपमा सहयोग हुने पनि महासंघले प्रतिबद्धता जनाएको छ । अर्थमन्त्रीले आफ्नो कार्यभार सम्हाल्दै गर्दा निजी क्षेत्रको विकासका लागि व्यक्त भएका कुराबाट आशावादी भए पनि निजी क्षेत्रको पुनरुत्थानको लागि सरकारले घोषणा गरेका राहत र सुविधाका प्याकेजहरु पर्याप्त नरहेको उल्लेख छ ।