काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल गुणस्तर तथा नापतौल विभागमा पर्याप्त परीक्षण उपकरण नहुँदा समस्या भएको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका नाडाका अध्यक्ष करण चौधरीले नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणीकरण गर्नका लागि विभागमा अझै पर्याप्त परीक्षण उपकरण नभएको गुनासो गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग बिहीबार भेटगरी उनले तत्कालै परीक्षण सुविधा स्थापना गर्न आग्रह गरे । परीक्षण उपकरण नहुँदा नेपालमै बनेका वस्तुहरूले समेत गुणस्तर चिह्न पाउन नसक्ने अवस्था भएको उनको भनाइ छ । यसले घरेलु उद्योगको विश्वसनीयता र बजारमा प्रतिस्पर्धात्मक क्षमता दुवैमा बाधा पुर्याइरहेको उल्लेख गर्दै उनले तत्कालै परीक्षण सुविधा स्थापना गर्न आग्रह गरे । छलफलमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै व्यवसायीहरूले पनि ल्याब स्थापना गर्न सक्ने वातावरण बनाउन प्रोत्साहित गर्ने बताए ।
नाडा अध्यक्ष चौधरीले नेपालमा हाल करिब १६ वटा लुब्रिकेन्ट उद्योग सञ्चालनमा रहेको र केही थपिने प्रक्रियामा रहेको जानकारी दिँदै यी उद्योगहरूको संरक्षण र प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको बताए । भारतको कर प्रणालीमा हालै गरिएको फेरबदलका कारण अनधिकृत आयात बढ्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै उनले यसको रोकथामका लागि सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्ने सुझाव दिए । छलफलको क्रममा अध्यक्ष चौधरीले हालैको जेन–जेड आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि धेरैजसो सो–रुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोड भएको जानकारी गराए । यसले उद्योगलाई परोक्षरूपमा ठूलो चुनौती थपेकाले मन्त्रालयले नीतिगत र संस्थागत सहयोग गरेर उद्योगलाई संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष चौधरीले विविन मोटर भेहिकल एग्रिमेन्टअन्तर्गत नेपाल, भारत, बंगलादेश र भुटानबीच सवारी साधन निर्वाध आवागमनको व्यवस्था नेपालका व्यावसायिक यातायात साधनहरूको बजारमा नकारात्मक असर पार्ने भन्दै यस विषयमा सरकारले गम्भीरतापूर्वक मूल्याड्ढन गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, नाडाले सुझाव दिएको एजेन्सी दर्ता नियमावली अझै नआएको र उक्त नियमावली समयमै नआएमा नेपालमा सवारीसाधन आयात व्यवसाय सञ्चालन गर्न कठिन हुने बताउँदै यसलाई छिटो अन्तिमरूप दिनुपर्नेमा जोड दिए । छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै उत्पादित टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगले गुणस्तर चिह्न पाउन निकै कठिनाइ भएको गुनासो गरे । अन्तर्राष्ट्रिय प्रचलनअनुसार लुब्रिकेन्ट्स आयातका लागि आयातकर्ताले अनिवार्यरूपमा एपीआई वा अन्य मान्यता प्राप्त संस्थाबाट जारी प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थाबारे सरकारलाई सचेत गराउँदै उनले नेपालकै उद्योगलाई पनि त्यस्तैस्तरमा लैजान प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । साथै, नेपालमा रहेका ११ वटा ब्याट्री कारखानालाई आधार बनाएर ब्याट्री रि–साइक्लिङ प्लान्ट स्थापना गर्नुपर्ने माग राखे ।
यसैगरी, नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीले सरकार र व्यवसायी परस्परपूरक भएको भन्दै दुवै पक्ष मिलेरअघि बढ्नुपर्ने बताए । निशान ढकालले व्यावसायिक सवारीसाधनको बजार खस्किँदै गएको भन्दै यसलाई गतिशील बनाउन नेपालकै उत्पादनमा आधारित क्रसर उद्योग विस्तार गर्नुपर्ने सुझाव दिए । अभिक ज्योतिले बजारमा गुणस्तर चिह्न नभएका हेलमेट व्यापक प्रयोगमा रहेको तथ्यलाई औँल्याउँदै, नेपालमा उत्पादन वा आयात हुने सम्पूर्ण हेलमेटलाई अनिवार्यरूपमा गुणस्तर चिह्न दिनुपर्ने प्रस्ताव राखे ।
उद्योगमन्त्री अनिलकुमार सिन्हाले उद्योग–व्यवसायलाई सबल बनाउन सरकार सजग रहेको बताएका थिए । देशलाई आत्मनिर्भर बनाउन सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा ध्यान दिनुपर्ने र व्यवसायीहरूको आवाज सरकारका लागि मार्गदर्शन हुने उनले बताए । मन्त्री सिन्हाले नाडाले प्रस्तुत गरेका माग र सुझावलाई सकारात्मकरूपमा लिएर चाँडै कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएका थिए । साथै, आगामी छ महिनापछि मन्त्रालयले गरेका कामहरूको व्यवसायीहरूले मूल्याड्ढन गर्नुपर्ने उनको भनाइ थियो । छलफलमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।