अमेरिका । चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीहरूलाई कठिनाइमा पारेको अमेरिका–चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् । वासिङ्टन राज्यका डेमोक्रेट सांसद एडम स्मिथले पाँच दिने भ्रमणको अन्त्यमा भने, ‘यद्यपि दुई अर्थतन्त्रबीच ठूलो परिमाणमा व्यापार भइरहेको छ, अझै पनि समस्याहरू समाधान गर्न धेरै काम गर्न बाँकी छ । चीन, अमेरिका र विश्वले केही मतभेदहरू हल गरेर मिलेर काम गर्दा ठूलो लाभ लिन सक्छन् ।’
स्मिथसहित डेमोक्रेट सांसद रो खन्ना र क्रिसी हौलहान तथा रिपब्लिकन सांसद माइकल बाउमगार्टनरले सांघाईमा अमेरिकन चेम्बर अफ कमर्ससँगको भेटपछि भनेका थिए । उनीहरूलाई कार्यालय भवनको लबीमा स्टारबक्समा कफी खाँदै गरेको पनि देखिएको थियो । स्मिथले प्रतिनिधिमण्डलको भ्रमणको मुख्य उद्देश्य सरकारबीच सञ्चारका मार्गहरू खोल्नु रहेको बताए । उनले भने, ‘विश्वका दुई ठूला आणविक शक्तिहरूबीच विशेषगरी मतभेद भएका विषयमा निरन्तर संवाद आवश्यक छ ।’ सांघाई/एपी