कञ्चनपुर । छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको संख्या बढ्दै गएको छ ।
पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न सहर घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले जानकारी दिए । ‘दुई वर्षयताको तथ्याङ्क हेर्दा यो नाकाबाट आउने विदेशी पर्यटकको संख्या बढेको छ’, उनले भने, ‘यस वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ ।’ उनका अनुसार सन् २०२२ मा गड्डाचौकी नाका भएर पाँच सय ४२ जना मात्रै विदेशी पर्यटन आएका थिए । सन २०२३ देखि विदेशी पर्यटकको संख्या बढ्दै गएको हो ।
अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी, २०२४ मा नेपाल आउने विदेशी पर्यटकको संख्या बढेको छ । सन् २०२४ मा एक हजार एक सय ५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म एक हजार एक सय ४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अस्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।