काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २७औँ वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । सभाले बैंकको आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको आठ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पुँजीको चार प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर गरी जम्मा आठ प्रतिशत (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
माछापुच्छ्रे बैंक चालू आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले उक्त नगद लाभांश दशैँअघि नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने छ । बोनस सेयर वितरणपछि बैंकको कुल चुक्ता पुँजी १२ अर्ब आठ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ८८ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो ।