काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग भएको भेटघाटमा उनले देशकै आर्थिक पाटो मजबुत बनाउनका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको बताए ।
स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अंगीकार गरेको जानकारी दिँदै उनले यस्तो प्रयोगले रोजगारी सिर्जना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयात तीव्रतालाई घटाउने अपेक्षा गरिएको बताए । मुलुकको पुनः निर्माण तथा मर्मत कामहरुमा स्थानीय स्रोत साधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले आगामी निर्वाचनका लागि आवश्यक पर्ने स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरेको बताए ।
सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै उनले विशेष गरी फर्निचर र निर्माण सामग्रीहरूमा पुनः निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमीहरु ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउन आग्रह गरेका थिए । उद्यमीले लिएको ऋणको पुनः तालिकीकरण तथा ऋण पुनः संरचनाको आवश्यकता औँल्याउँदै उनले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पु¥याउनुपर्ने र दुई–तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराए ।
स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औँल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताए । निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक भएको भन्दै उनले ठूला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
महासंघअन्तर्गत केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले महिलाहरुले सञ्चालन गरिरहेका साना तथा घरेलु उद्योग अफ्ठ्यारोमा रहेको बताइन् । यस्ता अप्ठ्यारोलाई फुकाउन सहुलियत दरको कर्जामार्फत सहजीकरण गरिदिन उनले आग्रह गरिन् । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउत, महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।