डेनमार्क । डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न रक्षा सुविधाहरू वरपर नयाँ ड्रोन देखिएको पुष्टि गरेको छ । यसअघि पनि नर्डिक क्षेत्रका हवाई अड्डाहरूमा ड्रोन देखिएर अस्थायीरूपमा सञ्चालन बन्द गर्नुपरेको थियो ।
मन्त्रालयले ठ्याक्कै कुन स्थानमा ड्रोन देखिएको भन्ने विवरण सार्वजनिक नगरे पनि डेनमार्कको सार्वजनिक प्रसारणकर्ता डिआरले सैन्य करुप एयर बेसवरिपरि र त्यसको बाडभित्र समेत करिब राति ८ बजे ड्रोन देखिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
केही समयका लागि हवाई क्षेत्र नागरिक उड्डयनका लागि बन्द गरिए पनि हाल करुपमा नागरिक उडान नहुँदा त्यसको प्रत्यक्ष प्रभाव खासै परेन । बुधबारदेखि बिहीबार रातिसम्म कोपनहेगनसहित चारवटा हवाई अड्डामा देखिएको यस्तै गतिविधिले उत्तरी युरोपमा सुरक्षा चिन्ता थप बढाएको छ । राजधानीमा सोमबार राति देखिएको ड्रोनले घण्टौँसम्म उडान अवरुद्ध गरेको थियो ।
‘यी ड्रोन गतिविधिहरूको मुख्य उद्देश्य डर र विभाजन सिर्जना गर्नु हो’, न्यायमन्त्री पिटर हम्मेलगार्डले चेतावनी दिँदै भने, ‘डेनमार्कले यस्ता खतरा असरविहीन पार्ने थप उपाय खोज्नेछ ।’ रासस/एपी