गाईघाट (उदयपुर) । अवैध १२ केजी गाँजासहित उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट प्रहरीले दुई महिला पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम रहेका छन् ।
शनिबार नेपालटारस्थित कमान क्षेत्रमा प्रहरी चौकी नेपालटारका गस्ती टोलीले गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताए ।
सूचना अधिकारीका अनुसार कमानमा प्रहरी गस्ती टोलीले उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्न फर्कने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । शनिबार राति नै पक्राउ गरिएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।