दाङ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिएका छन् ।
आइतबार बिहान लु २ ख ६५०२ नम्बरको सो माइक्रोबस कपुरकोट–३ चोरखोलामा सडकदेखि तीन सय मिटर तल खसेर दुर्घटना भएको थियो । गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीय डिना केसी छन् । घाइतेहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पातल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुरमा लगिएको छ ।