पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सहिदचोकस्थित सरकारी निवासमा गए राति पुनः आगजनी भएको छ। राति करिब साढे २ बजे अज्ञात व्यक्तिहरूले आगो लगाएको प्रहरीले जनाएको छ। यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सो भवनमा तोडफोड र आगजनी भएको थियो। प्राविधिक समितिले मर्मतपछि प्रयोग गर्न मिल्ने निष्कर्ष दिए पनि सरकार तयारीमा रहँदै गर्दा फेरि आगजनी भएको हो। आन्दोलनका कारण गण्डकीमा १२ कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४८ भवनमा क्षति पुगेको छ। संरचनागत क्षति मात्र करिब दुई अर्ब पुगेको प्रदेश सरकारको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा बढी क्षति प्रदेश प्रमुखको निवासमा पुगेको छ। प्रदेशसभा परिसरका संसदीय दल कार्यालय, कर्मचारी निवास र प्रशिक्षण प्रतिष्ठानलगायतका संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रतिवेदनअनुसार, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, शिक्षा विकास महाशाखा, मुख्यमन्त्री निवासको हल, नीति तथा योजना आयोग, यातायात व्यवस्था कार्यालय (सवारी र लाइसेन्स) र मन्त्री क्वाटरलाई ‘रातो सूची’मा राखी तत्काल प्रयोग नगर्न वा भत्काउन सुझाइएको छ। त्यस्तै, १६ भवन ‘पहेंलो सूची’ (असुरक्षित) र २० भवन ‘हरियो सूची’ (प्रयोगयोग्य) मा सूचीकृत छन्।