काठमाडौं । भन्सार जाँचपासका लागि दशैंको बिदामा पनि बैंकहरुले आवश्यक सेवा दिने भएका छन् । राष्ट्र बैंकले आइतबार बैंक तथा फाइनान्स कम्पनीहरुलाई विजयादशमीबाहेकका सबै दिन भन्सार प्रयोजनका लागि बैंकहरु खुला राख्न निर्देशन दिएको हो ।
यसअनुसार बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सो प्रयोजनका लागि टीकाको दिनबाहेक अरु दिन खुल्नेछन् । राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, ‘नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको यही असोज ९ गतेको पत्रबाट व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ सेवा सुचारु गर्न अनुरोध भएबमोजिम विजया दशमीको दिन (मिति २०८२/०६/१६ गते) बाहेक दशैं बिदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु/गराउनु हुन यो सूचना जारी गरिएको छ ।’
यसैगरी, राष्ट्र बैंकले यही असोज १३, १४, १५ र १७ गते सार्वजनिक बिदाका दिनहरुमा आरटीजीएस प्रणाली बिहान १०ः०० बजेदेखि अपराह्न ०४ः०० बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ ।