काठमाडौं । यसैबीच, नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलको लागि भाडामा घर खोज्नका लागि सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै भाडाको घरका लागि प्रस्ताव आह्वान गरेको हो ।
भाडामा लिने घर कम्तीमा १६ आनादेखि अधिकतम २४ आनासम्मको भू–क्षेत्रमा बनेको, कम्तीमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र साढे दुईदेखि तीन तलासम्मको हुनुपर्नेछ । घरमा कम्तीमा चारवटा बेडरुम भएको र यसमध्ये एउटा मास्टर बेडरूम अनिवार्य हुनुपर्नेछ । घरमा लिभिङ हल, किचन, डाइनिङ हल स्टोर रुम समेत हुनुपर्नेछ । यसबाहेक घरमा कम्तीमा छवटा कार वा जिप पार्क गर्न मिल्ने ठाउँ हुनुपर्नेछ । सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग सिधा जोडिएको हुनुपर्नेछ । त्यस्तै, बिजुली, ढल निकास र खानेपानीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ ।
इच्छुक व्यक्ति, फर्म वा कम्पनीले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट घर भाडा प्रस्तावसम्बन्धी कागजात प्राप्त गरी आवश्यक विवरण भरी प्रस्ताव पेस गर्न सकिने उल्लेख छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गभर्नर पौडेलको भैँसेपाटी र चितवनमा रहेको दुईवटा घर जलेपछि राष्ट्र बैंकले गभर्नरका लागि नयाँ घरभाडामा लिन प्रस्ताव आह्वान गरेको हो ।