उच्च तहका नेताबाटै जेन–जी आन्दोलनबाट लाभ लिन खोज्दाका क्रममा सुरु भएको देशव्यापी ‘जेल तोडौँ’ अभियानमा फरार भएका ठूलो संख्याका कैदीबन्दीहरू जेलबाहिरै रहँदा चाडबाडका बेला पनि समाज त्रस्त बन्न पुगेको छ । त्यसमाथि लुटिएका अत्याधुनिक हतियार र गोलीगठ्ठा पनि उनकै हातमा परेको भन्ने शंकाले त यसलाई अर्थात् यो आतङ्कलाई झनै बढाएको स्थिति देखिन्छ । जेन–जी आन्दोलनको नाममा २४ भदौमा देशका विभिन्न कारागार र बाल सुधार गृह तोडिएका थिए । यसरी फरार भएकाहरूको संख्या १५ हजारको हाराहारीमा थियो । यो समूह कति संगठित छ भने नख्खु जेल तोडेर भागेकाहरूको समूहले त्यसै दिन काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय जेलाबाट चार हजार हाराहारीका बनदीहरूलाई भगाएका थिए । त्यसमध्ये हत्या, बलात्कार, लागुऔषध तथा चोरी डकैतीका अपराधीहरूको ठूलो संख्या अझै जेलबाहिर नै छन् । यसबाट समाज आतङ्कित बन्न पुगेको हो । प्रहरी प्रधान कार्यालयकै अनुसार पनि भागेका कैदीबन्दीका कारण सुरक्षा थ्रेट बढेको छ । त्यो कतिसम्म भने यसै कारण नेपालीको मुख्य रोजगार गन्तव्य देश यूएई, कतार, मलेसियालगायतले कामदार लैजान कडाइ गर्न थालेका छन् । यो निकै दुःखद पक्ष हो ।
कारागार व्यवस्थापन विभागका निर्देशकका अनुसार त्यस दिन जेल तोडेर भागेका कैदीबन्दीमध्ये अहिलेसम्म आठ हजारको हाराहारीमा मात्रै जेलमा फर्किएका छन् । यसमा केही आफैँ फर्किए भने केहीचाहिँ पक्राउमै परे । जेल तोड्ने क्रममा गोली लागेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । निर्देशकका अनुसार देशभर ३० हजार छ सय ४९ जना कैदीबन्दी रहेकामा २८ वटा कारागारबाट १४ हजार पाँच सय ४९ कैदी फरार भएका थिए । जसमध्ये आठ हजार ५४ जनालाई कारागारमा फर्काइएको छ । तर छ हजार चार सय ९५ जना अझै फरार छन् । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा ३४ वटा कारागारमा आगजनी र तोडफोड भएका थिए । जसमध्ये चारवटामा सामान्य क्षति भए पनि ३० वटामा भने धेरै नै क्षति भएको छ । फरारमध्येका ठूलो संख्या भने त्यति गम्भीर अपराधी नभएको बुझाइ छ । यसरी फरार भएका मध्ये एक जनाले हत्या नै गरेर आत्मसमर्पण गर्न आएका थिए । तर यस्तो संख्या थोरै मात्र छ । अपराधमा दोषी ठहरिएका कैदीहरूको यो समूहलाई कसै न कसैले प्रयोग गर्ने हुन् कि भन्नेबाट पनि आतङ्क बढेको हुनुपर्छ ।
विज्ञहरूको अनुसार यस्तो अपराधकर्मको दण्ड भोगिरहेका भागेका अवस्थामा पछि कसैको स्वार्थमा प्रयोग भएका देखिएको छ । त्यसमाथि अहिले त प्रहरीसँग सुरक्षाका साधनस्रोत पनि कम छन् । दशैँमा सबैजसो सरकारी कार्यालयमा बिदा नै छ । त्यहाँ भएका सवारीसाधन तत्काल प्रहरीलाई दिन सकिन्छ । अहिले सबैभन्दा महत्वपूर्ण कुरो नागरिकका सुरक्षा हो, प्रहरीसँग यातायातका साधन अभाव हँुदा पहिले पनि यस्तो प्रयोग हुने गरेकाले अहिले पनि त्यसलाई निरन्तरता दिन आवश्यक देखिन्छ । दशैँ–तिहारमा सहरी क्षेत्रबाट ग्रामीण भेगमा मानिस बढी मात्रामा पुगेका हुन्छन् । यतिबेला देशका मुख्य सहरी क्षेत्रहरू रित्ताजस्ता भएका छन् । यसले ग्रामीण क्षेत्रमा बढी मात्रामा चोरी डकैती तथा लुटपाटका घटनाहरू बढ्ने अनुमान गर्न सकिन्छ । जेल तोडेर भागेका कैदीको पहिलो तारोमा उनीहरूविरुद्ध उजुरी गर्नेहरू परेका हुन सक्तछन् यस्तोमा आफूविरुद्ध उजुरी गर्नेमाथि रिसइबी साँधिन सक्छ । प्रहरीले यस्ता व्यक्तिको पहिचान गरेर विशेष निगरानी दिनुपर्ने हुन्छ । जेल तोडेर यतिठूलो संख्या बाहिर आएको अवस्था यो पहिलो नै हुनुपर्छ । यसअघि ठूला परिवर्तन ल्याउने २०४६ र ६२÷६३को जनआन्दोलनमा पनि यस्तो भएको थिएन । यस्तो विषम परिस्थितिको सही मूल्यांकन भएर सोहीअनुसार सुरक्षा निकाय परिचालन हुन जरुरी देखिन्छ ।