काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ ।
सम्झौता अनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउने छ । यस क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्रा अक्युलर लेन्स, एनेस्थेटिक औषधि तथा शल्यक्रिया–पूर्वका आवश्यक परीक्षणहरू पनि निःशुल्क उपलब्ध गराइने छ । यसैगरी, काठमाडौं महानगरपालिका वडा नं. १८, मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्र, पुरानो बानेश्वरमा सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।
सम्झौता कार्यक्रमको क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समुहका कर्मचारी तथा मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगानाको उपस्थिति रहेको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस सम्झौता मार्फत समुदायमा स्वास्थ्य सुरक्षाको पहुँच विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । समुदायलाई प्रत्यक्ष लाभ हुने खालका यस्ता सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइने प।तिव४ता कम्पनीले जनाएको छ ।