काठमाडौं । सुपर कृषक एपले आफ्नो प्लेटफर्ममा ‘सुपर कृषक कृषि इन्टेलिजेन्स’ नामक एक कृत्रिम बौद्धिकता (एआई) आधारित नयाँ सुविधा सार्वजनिक गरेको छ । किसानहरूलाई नवीनतम प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले कम्पनीले यो नयाँ एआई सुविधा सार्वजनिक गरेको हो । यो सुविधाले किसानहरूले सामना गरिरहेका कृषि परामर्शसम्बन्धी चुनौतीहरूलाई सहज बनाउँदै उनीहरूलाई तत्काल र भरपर्दो जानकारीमा पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
नेपाली किसानहरूले परम्परागतरूपमा बालीनालीमा देखिने समस्या, मौसमको जानकारी वा बजार मूल्यजस्ता विषयमा परामर्श लिन कृषि कार्यालय वा प्राविधिक विज्ञहरूमा निर्भर रहनुपर्ने अवस्था थियो । विगतमा ‘जेटियो कहाँ गयो त्यहीँ भेटियो’ भन्ने भनाइले किसान र प्राविधिकको निकटतालाई जनाए पनि अहिले कृषि प्राविधिक किसानको खेतमा बिरलै भेटिन्छन् । वर्तमान समयमा सूचना प्रविधिको विकासको प्रयोग गरी परामर्शको पहुँचलाई अझ सहज र व्यापक बनाउन सुपर कृषकले यो नयाँ सुविधा किसानको समस्या समाधानका लागि ल्याएको हो ।
‘कृषि इन्टेलिजेन्स’ सुपर कृषक एपभित्र रहेको एक च्याट–आधारित प्रणाली हो, जहाँ किसानहरूले आफ्नो कृषिसम्बन्धी कुनै पनि प्रश्न सरल नेपाली वा अन्य भाषामा सोध्न सक्छन् । यस प्रणालीले किसानका प्रश्नहरूलाई तत्काल विश्लेषण गरी निम्न विषयहरूमा सटिक जानकारी र सल्लाह प्रदान गर्ने कम्पनीले जनाएको छ । अझ प्रभावकारी र व्यक्तिगत परामर्शका लागि प्रयोगकर्ताहरूले एपको ‘कृषि चिना’मा आफ्नो जग्गाको विवरण, लगाएको बाली र मिति अद्यावधिक गर्न सक्नेछन्, जसले गर्दा एआई प्रणालीले उनीहरूको अवस्थाअनुसार विशेष सल्लाह उपलब्ध गराउन सक्छ ।
सुपर कृषक एपको लक्ष्य प्रविधिको उपयोग गरी किसानहरूलाई सही समयमा सही जानकारी उपलब्ध गराएर उहाँहरूको निर्णय प्रक्रियालाई सुदृढ पार्नु रहेको कम्पनीको भनाइ छ । ‘कृषि इन्टेलिजेन्स’ले किसान र कृषि विज्ञबीचको सूचनाको दूरीलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । नयाँ सुविधा सुपर कृषक एपको पछिल्लो संस्करणमा उपलब्ध छ । सबै प्रयोगकर्ताहरूले एप अपडेट गरी यसको लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।