काठमाडौं । दुई दिनयता परेको निरन्तरको वर्षात्पछि आएको बाढी र पहिरोले जलविद्युत् आयोजनाहरुमा समेत क्षति पुर्याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार शुक्रबारदेखिको अविरल वर्षात्ले १८ वटा जलविद्युत् आयोजनाहरु प्रभावित भएका हुन् ।
प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म सञ्चालनमा रहेका एक सय पाँच दशमलव चार मेगावटका १३ आयोजनाको उत्पादन बन्द छ भने निर्माणाधीन अवस्थाका ९३ मेगावाटका पाँचवटा आयोजनामा बाढीले क्षति पुगेको इप्पानले जनाएको छ । यसअनुसार इलाम जिल्लाको मात्रै चार दशमलव पाँच र २२ मेगावाटको माइखोला हाइड्रोपावर, ८ र ७ मेगावाटको माइखोला क्यासकेड, सात दशमलव आठ मेगावाट र नौ दशमलव छ मेगावाटको सुपरमाई र सुपरमाई ‘ए’ जलविद्युत् र तीन मेगावाटको सुपरमाई ‘ए’ क्यासकेड जलविद्युत् आयोजनामा क्षति पुगेर उत्पादन बन्द भएको हो ।
योबाहेक इलामकै जोगमाई खोला, जोगमाई क्यासकेड, तल्लो जोगमाई, माइबेनी हाइड्रो, माथिल्लो माई खोला, माइसी क्यासकेड आयोजनामा क्षति पुग्दा उत्पादन बन्द भएको हो । यस्तै, निर्माणाधीन अवस्थामा रहेका पाँचथर, इलाम र सिन्धुपाल्चोकका पाँचवटा आयोजनामा क्षति पुगेको छ । पाँचथरको सभाखोला बी, हेवाखोला, सिद्धिखोला, ब्रह्मायणी र अपर ब्रह्मायणी हाइड्रोपावरमा बाढी तथा पहिरोले क्षति पुर्याएको हो ।
इलाम, पाँचथर र सिन्धुपाल्चोक जिल्लामा १८ वटा साना तथा ठूला आयोजना क्षतिग्रस्त भएको विवरण सार्वजनिक गर्दा सरकारले भने हालसम्म दुईवटा मात्रै जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण सार्वजनिक गरेको छ ।