काठमाडौं । इ–सेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिङ सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिङ सेवामा सुधार गरेको छ । कम्पनीका अनुसार अब प्रयोगकर्ताहरूले क्युएफएक्स सिनेमासका चलचित्र टिकटहरू सिधै इ–सेवा एपभित्रबाटै बुक गर्न सक्नेछन् । यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ । नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ ।
इ–सेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र सो टाइम छानी सिट सुरक्षित गर्न सकिने जनाइएको छ । इ–सेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले क्युएफएक्ससँगको यो सहकार्यले नेपाली डिजिटल भुक्तानी र मनोरञ्जन उद्योग दुवैका लागि एउटा महत्वपूर्ण कदम भएको बताए । ‘हामी हाम्रा प्रयोगकर्ताहरूको सुविधालाई उच्च प्राथमिकता दिन्छौँ र यो नयाँ फिचरले चलचित्रप्रेमीहरूका लागि टिकट खरिदको अनुभवलाई अझै सरल र प्रभावकारी बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ । यो साझेदारीले डिजिटल नेपालको सपनालाई साकार पार्न पनि थप टेवा पुग्नेछ’, उनले भने । भुक्तानी सफल भएपछि टिकट एपमै प्राप्त हुनेछ । इ–सेवा सधैँ डिजिटल भुक्तानीलाई अझै सरल र सुरक्षित बनाउन प्रयासरत रहेको छ ।