नेपालीहरुको सबैंभन्दा ठूलो चाड दशैँको टिका लगाइदिने आशीर्वाद दिने÷लिने दिनहरु अर्थात् असोज १७ र १८ गते कोशी, मधेस, बागमतीका सबै जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाका केही भागमा परेको भारी वर्षले जनजीवन अस्तव्यस्त पारिदियो । १६ गते घरमा टीका लगाएर आफन्तजनहरुमा टीका थाप्न गएका केही व्यक्तिहरु यो प्राकृतिक विपत्तिका कारण समयमै घर फर्कन सकेनन् भने कतिपय अहिले पनि आफन्तकहाँ छन् । कतिपय बाटोमै अलपत्र छन् । घर फर्कनै लाग्दा सरकारले शनिबार एक्कासी हवाई तथा सडकमा चल्ने सबै किसिमका सवारी साधन सञ्चालनमा रोक नै लगाइदियो । यसले गर्दा बाटोमा अलपत्र पर्नेहरुको संख्या बढ्न गयो । यद्यपि, यसरी रोकिँदा राजमार्गमा गएको पहिरोबाट ज्यान जाने खतरा भने टरेको छ ।
आइतबार साँझसम्मको सरकारी तथ्यांकअनुसार देशका विभिन्न भागमा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ भने दर्जनबढी हराइरहेका छन् । यसले बाढी/पहिरोबाट जीवन गुमाउनेको संख्या अझै बढ्ने देखिएको छ । सरकारले वर्षापछि आउने बाढी र पहिरोबाट जनधन जोगाउनका लागि पूर्वतयारीका काम भने गरेको थियो । अघिल्लो वर्ष यही असोजमा आएको बाढी र पहिरोबाट धेरै जनधनको क्षति भएपछि सरकारको आलोचना भएको थियो । त्यही आलोचना सुनेको/देखेको कारण यो वर्ष सरकारमा बस्नेहरुले अघिल्लो सरकारको गल्ती दोहोर्याएनन् । यो सरकारले हतारहतार भारी वर्षापछिको विपत्तिबाट जोगाउन पूर्वतयारी गरेको थियो । तर, त्यो तयारी खासगरी संघीय राजधानी काठमाडौं उपत्यका र आसपास तथा राजमार्गहरुमा बढी कन्द्रित थियो । सरकारले खासै प्राथमिकता नदिएका जिल्लाहरुमा बाढी र पहिरोबाट धेरैको ज्यान गयो । कोशी प्रदेशको इलाममा मात्र ३७ जनाको ज्यान गएको तथ्याङ्क आइतबार साँझसम्म आएको छ । सरकारले नदी किनार र राजमार्गमा ध्यान दिँदा उक्त जिल्लामा पहिरोको कारण घरहरु बगाउँदा धेरैको ज्यान गयो । इलामलगायत कोशीका अन्य जिल्लाहरुमा हराउनको संख्या पनि भएको कारण उक्त क्षेत्रमा मृतकको संख्या अझै बढ्ने देखिन्छ ।
सरकारले पूर्वतयारीका काम गर्दा नागरिकको ज्यान जोगाउन केही हदसम्म सफल भए पनि भौतिक संरचना जोगाउन भने सकेन । किनकि, नेपालको भौगोलिक संरचना, पूर्वाधार निर्माणका क्रममा प्राकृतिक स्रोतमाथि गरिएको अस्वाभाविक दोहन तथा खोला र नदीलाई नै अवरोध गर्ने जुन प्रयास भएका छन् त्यही कारण सडक, खानेपानी, सिँचाइ, जलविद्युत् आयोजनाहरुले बढी क्षति व्यहोर्नुपरेको छ । अघिल्लो वर्ष ध्वस्त बीपी राजमार्गको ठेक्का लागेर निर्माण कार्य प्रारम्भ नहुँदै यो वर्ष पनि उक्त राजमार्गको काभ्रेपलाञ्चाक जिल्लाका विभिन्न क्षेत्र त्यसैगरी प्रभावित भएको छन् । सरकारले उक्त राजमार्ग सुरु गर्न तीन÷चार दिन लाग्ने आकलन गरेको छ । बीपी मात्र होइन अन्य राजमार्गको अवस्था पनि अस्तव्यस्त नै छ । अहिले जबरजस्ती राजमार्ग खोलिए पनि खतरा कायमै छ । मेची र कोशी राजमार्गको अवस्था पनि बीपीको भन्दा कम छैन । कयौँ पुलहरु यो वर्ष पनि बगाएको छ । गत वर्षको बाढी र पहिरोले क्षति पुर्याएर पुनः निर्माण गरिएका र पुनः निर्माणका लागि संरचना बन्दै गरेका ठाउँहरु पनि क्षति पुगेको कारण सरकारले पूर्वाधार निर्माणमा नयाँ ढंगले सोच्नै पर्ने अवस्था सिर्जना भएको छ । परम्परागत रुपको विकासले विनास थप्दै गएकाले राजमार्ग र पुलहरु तथा जलविद्युत् आयोजनाहरु पुनः निर्माण गर्दा अहिले भइरहेको डिजाइनमा फेरबदल गर्नैपर्छ । नत्र यस्ता प्राकृतिक विपत्ति आउँदा वर्षेनि क्षति बढाउनेछ ।