काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरुको निर्माण सम्पन्न हुने समय र लागत रकम बढेको छ । निर्माणमा ढिलाइ र अन्य विविध समस्याका कारण आयोजनाहरुको समय र लागत बढ्दै गएको हो ।
यसअन्तर्गत बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ ।
राष्ट्रिय योजना आयोगका अनुसार राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेका सिँचाइ आयोजनाहरुको निर्माण कार्य समयमा सम्पन्न नहुँदा निर्माण सम्पन्न हुने समय र लागत दुवै बढ्दै गएको छ । आयोगका अनुसार सिक्टा सिँचाइ आयोजनाको आव २०८९/९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्याइएको छ ।
सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक समय र लागत संशोधन गर्दै उक्त रकम पुगेको हो ।
आव २०६१/६२ मा सात अर्ब ४५ करोड रुपैयाँ अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै ५२ अर्ब ८९ करोड रुपैयाँ बराबर बजेट बजेट पुगिसकेको छ । विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड रुपैयाँ पुर्याइएको थियो ।
आयोजना सुरू भएदेखि हालसम्म अर्थात् मङ्सिरसम्ममा २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको छ । सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।
पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी, मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।
सिक्टा मात्र नभई बबई सिँचाइ र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पनि उही अवस्था छ । आव २०४५/४६ मा सुरु भएको बबई सिँचाइ आयोजना हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । पहिलोपटक आयोजना घोषणा गर्दा आव २०६९/७० मा सम्पन्न गर्ने बताइएकोमा हाल संशोधन गर्दै आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ३७ वर्ष बितिसक्न लाग्दा पनि आयोजना सम्पन्न नहुनुको साथै लागत समेत बढेको छ । आयोजनाको सुरुवातको लागत दुई अर्ब ८७ करोड रुपैयाँ रहेकोमा संशोधित लागत १८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका सथा बबई सिँचाइ आयोजना सुरु भएको हो । नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)को संलग्नतामा २०२४ सालदेखि अध्ययन थालनी गरेको र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा सम्पन्न भएको बबई सिँचाइ आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा बबई नदीभन्दा पूर्वमा करिब १९ हजार हेक्टर तथा पश्चिममा २१ हजार हेक्टर जमिनलाई सिँचाइयोग्य भनी निर्धारण गरिएको थियो ।
आव २०६७/६८ मा सुरु भएको रानीजमरा कुलरिया सिँचाइ आयोजना हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । पहिलोपटक आयोजना घोषणा गर्दा आव २०६७/६८ मा सम्पन्न गर्ने बताइएकोमा हाल संशोधन गर्दै आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । १५ वर्ष बितिसक्न लाग्दा पनि आयोजना सम्पन्न नहुनुको साथै लागत समेत बढेको छ । आयोजनाको सुरुवातको लागत १२ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा संशोधित लागत २७ अर्ब ७० करोड रुपैयाँ रहेको छ । शतप्रतिशतले लागत बढ्दा समेत आयोजना निर्माणलाई लिएर अन्यौलता कायम नै रहेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट करिब ३४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । आयोजनाको आधुनिकीकरण २०६६/६७ मा सुरु भएको थियो र यसको तेस्रो चरणको काम २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।