काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का कर्मचारीहरुको आन्दोलन पुनः सुरु भएको छ । दशैँअघिदेखि नै विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रिएका कर्मचारीहरुले सोमबार कार्यालय खुलेसँगै यसअघिको आन्दोलनलाई निरन्तरता दिएको हुन ।
आन्दोलनको १४औँ दिन सोमबार पनि धितोपत्र बोर्डका कर्मचारीहरुले विभिन्न मागसहितको ब्यानर लिएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको ब्यानरमा ‘हामी विरोधमा छौँ’ लेखिएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी संघका अध्यक्ष अजय ढुङ्गानाका अनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहेन छ । सोही क्रममा उनीहरुले सोमबार धितोपत्र बोर्डको सबै काम ठप्प नै पारेका छन् ।
बिचौलियाको स्वार्थअनुसार धितोपत्र अध्यक्ष नियुक्त भएको भन्दै विरोध जनाएको बोर्डका कर्मचारीहरुले अर्थ मन्त्रालयको खर्च कटौतीसम्बन्धी पछिल्लो निर्णयप्रति पनि आपत्ति जनाएका छन् । कर्मचारी कल्याण कोष र सुरक्षा कोषबाट लिइएका सुविधाहरू फिर्ता ल्याउने, अवैतनिक सेवाहरू कटौती गर्ने, अवकाशप्राप्त कर्मचारी र मृत कर्मचारीहरूको पनि सुविधा फिर्ता हुनुपर्नेजस्ता अर्थ मन्त्रालयले गरेका निर्णयहरु रोक्नुपर्नेलगायतका मागहरु कर्मचारीहरुले अघि सारेका छन् । बोर्डको स्वायत्तता कायम राख्न, मन्त्रीस्तर या सचिवस्तरको निर्णयले कानुनीरूपमा स्थापित सुविधा खारेज गर्न नसक्ने र कर्मचारीहरू डर–भयविहीन वातावरणमा काम गर्न पाउने स्थिति सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
यता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेतृत्वले बिचौलियाको चाहनाअनुसार काम गरेको तथा सेवा सुविधासहितका अन्य विषयहरुलाई लिएर उनीहरु दशैँअघि देखिन नै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका उत्रिएका कर्मचारीहरुले नेप्सेका अध्यक्ष हेमन्त बस्याललाई कार्यालयमा प्रवेश निषेध गरेका छन् । आन्दोलनका क्रममा कार्यालयमा कालोपट्टी बाँधेर बसेका कर्मचारीहरू माग पूरा नभएसम्म अध्यक्षलाई छिर्न नदिने अडान लिएका छन् ।
अर्थ मन्त्रालय अनावश्यक खर्च कटौती गर्न परिपत्र जारी गरेसँगै नेप्सेका कर्मचारीहरु पनि बोनस सेयरको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले पाँच प्रतिशत बोनस पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा कर्मचारीहरुले नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंलाई मंगलबार राति अबेरसम्म कार्यकक्षमा नै थुनेर राखेका थिए । पछि नेपाल प्रहरीले हस्तक्षेप गरी अध्यक्ष र प्रमुख कार्यकारी दुवैलाई उद्धार गरी राति घर पठाएको थियो ।
यसैबीच, नेप्सेमा कार्यरत कर्मचारीहरुको छाता संगठनले भने नेप्सेका अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंले बिचौलियाका एजेन्डाअनुसार काम गरेको आरोप लगाएका छन् । संगठनका अध्यक्ष नवराज थापाका अनुसार उच्च व्यवस्थापनसँग मंगलबार पनि यसबारेमा छलफल भए पनि नेतृत्वले सुध्रन नचाएकाले आन्दोलन गर्नुपरेको हो ।
छलफलका क्रममा व्यवस्थापन पक्षबाट सुरक्षा चुनौती बढेको भन्दै प्रहरी बोलाइएको र प्रहरी समेतको रोहबरमा छलफल भए पनि कुनै निकास ननिस्किएको संघले अध्यक्ष थापाले जानकारी दिए । यो अवस्थामा अध्यक्ष र प्रमुख कार्यकारीको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने संघका अध्यक्ष थापाले जानकारी दिए ।
बोर्ड कर्मचारीको माग अर्थद्वारा अस्वीकार
नेपाल धितोपत्र बोर्डका आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सोमबार भएको छलफल निष्कर्षविहीन भएको छ । अर्थ मन्त्रालयले खर्च कटौतीका लागि दुई कार्यविधि खारेज गर्न निर्देशन दिँदै बोर्डलाई पठाएको पत्र फिर्ता गर्नुपर्ने माग अस्वीकार गरिदिएको हो ।
बिभिन्न माग राखेर आन्दोलनमा उत्रिएका बोर्डका कर्मचारीहरुले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नेतृत्वमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा र राजस्व व्यवस्थापन महाशाखा प्रमुखहरूलाई भेटेर छलफल गरेका थिए । तर उक्त छलफलमा अर्थमन्त्रालयले अनावस्यक खर्च कटौती गर्न दिएको निर्देशनको धेरै बुँदाहरुमा सहमती जुट्न सकेन ।
यही असोज २ गते राजस्वसचिव दिनेशकुमार घिमिरेले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ खारेज गर्ने निर्णय गरेपछि बोर्डका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हिुन । सोमबार भएको छलफलमा बोर्डका अध्यक्ष श्रेष्ठ, कार्यकारी निर्देशकहरू डा. नवराज अधिकारी, विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठले सहसचिवद्वय महेश आचार्य र उत्तर कुमार खत्रीलाई भेटेर पत्र फिर्ता लिन आग्रह गरेका थिए ।
तर उक्त आग्रहमा अर्थमन्त्रालय अन्र्तगतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव महेश आचार्यले बोर्डका उक्त पत्र कुनै हालतमा फिर्ता नहुने बताएपछि छलफल निष्कर्षबिहिन भएको हो ।