काठमाडौं । ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने किटानी जाहेरी लिएर सोमबार काठमाडौं जिल्ला प्रहरी परिसर (कार्यालय) मा पुगेका हुन् । यद्यपि, उनको किटानी जाहेरी भने प्रहरीले दर्ता गर्न मानेको छैन ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भएको प्रहरी दमनको मुख्य योजनाकार तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक रहेको भन्दै उनीहरुलाई पक्राउ गरेर कारबाही अगाडि बढाउनुपर्ने माग गुरुङको छ । तर, प्रहरीले भने सो घटनाको बारेमा सरकारद्वारा गठित छानबिन आयोगले काम गरिरहेको कारण किटानी जाहेरी लिन अस्वीकार गरेको हो । उक्त आन्दोलनको पक्षमा सामाजिक सञ्जालमा स्टाटस लेखेर समर्थन जनाउँदै मानिसहरुलाई उत्तेजित पार्ने गौरबहादुर कार्की नै आयोगका अध्यक्ष छन् । जने–जी आन्दोलनको बेलामा फेसबुकमा स्टाटस लेखेर पक्ष लिएका कार्की छानबिन आयोगको अध्यक्ष भए पनि अब प्रहरीलाई युवाको शक्ति देखाइदिन्छौँ भन्दै गुरुङ प्रहरी परिसरबाट निस्किएको स्रोतको भनाइ छ ।
विदेशीबाट पैसा लिएर सञ्चालन भइरहेको भनेर ‘हामी नेपाल’ संस्थालाई केही समूहले आरोप लगाएका छन् । तर, सरकारले भने उक्त संस्थाको बारेमा वास्तविकता बाहिर ल्याएको छैन । जेन–जी आन्दोलन सोही संस्थाको अगुवाईमा भएको दाबी गुरुङ पक्षको छ । गुरुङले अहिले सुशीला कार्की नेतृत्वको सरकारमाथि विभिन्न कोणबाट हस्तक्षेपको प्रयास गरिरहेको छ ।